असोज १९, २०८३ सोमबार October 5, 2026

महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने

सदस्यता नवीकरण सुस्त, महाधिवेशन र जागरण अभियानबारे छलफल गर्दै नेकपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको महाधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्ने गरी तयारी अघि बढाएको छ। महाधिवेशनको समय सार्ने विषयमा औपचारिक निर्णय गर्न नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।

बैठक आगामी २३ असोजमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ। बैठकमा पार्टीको आगामी कार्यदिशासँग सम्बन्धित तीन प्रमुख विषयमा छलफल हुने बताइएको छ।

नेकपाले दसैँ–तिहारपछि देशव्यापी रूपमा दुई महिने जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि बसेको केन्द्रीय बैठकमा अभियान सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको थियो। प्रस्तावमाथि अध्ययन गरी अर्को बैठकबाट आवश्यक निर्णय गर्ने भनिएअनुसार आगामी बैठकमा यस विषयमा विस्तृत छलफल हुने भएको हो।

बैठकको अर्को महत्वपूर्ण एजेन्डा पार्टीको महाधिवेशनको मिति रहेको छ। यसअघि आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरिएको थियो। तर स्थानीय तहको निर्वाचनको तयारी, संगठन विस्तारलगायतका विषयलाई ध्यानमा राख्दै महाधिवेशन स्थानीय चुनावपछि गर्ने विकल्पमा नेकपा पुगेको नेताहरूले बताएका छन्।

यद्यपि, महाधिवेशन कहिले गर्ने भन्ने विषयमा भने अहिलेसम्म निश्चित मिति तय भएको छैन। संयोजन समितिको बैठकले महाधिवेशनको नयाँ समयसीमाका विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, बैठकमा पार्टी सदस्यता नवीकरण तथा विभिन्न समूहबाट पार्टीमा समाहित भएका नेता–कार्यकर्ताको सदस्यता समायोजनको विषय पनि छलफल हुने भएको छ।

एकीकृत समाजवादीसहित विभिन्न समूहसँगको एकतापछि पार्टी सदस्यता समायोजनमा समस्या देखिएको नेकपाका नेताहरूले बताएका छन्। सदस्यता नवीकरण र समायोजनको काम भदौभित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि अपेक्षित गतिमा काम अघि बढ्न नसकेको उनीहरूको भनाइ छ।

नेकपाका नेताहरूका अनुसार अहिलेसम्म सदस्यता नवीकरण तथा समायोजनको काम ५० प्रतिशतसमेत पूरा हुन सकेको छैन। संगठनात्मक रूपमा महत्वपूर्ण मानिएको सदस्यता व्यवस्थापनको काममा ढिलाइ भएपछि आगामी बैठकमा यसबारे समीक्षा गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

यसरी २३ असोजको बैठकले जागरण अभियानको स्वरूप र कार्यतालिका, महाधिवेशनको नयाँ समय तथा पार्टी सदस्यता नवीकरण र समायोजनका विषयमा निर्णय गर्ने सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया