राज्यमातहतका चार सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना हुनेले संगठनको कार्यप्रकृतिअनुसार अनिवार्य रूपमा सुरक्षा तालिम लिनुपर्छ।
ती संगठनका जनशक्तिको सबै रेकर्ड राज्यसँग हुन्छ। उनीहरूलाई कानुनले तोकेकै जिम्मेवारीअनुसार परिचालन गरिन्छ। राष्ट्रिय सेवा दल (नेसनल क्याडेड कब्स (एनसिसी) का लगभग सुरक्षा निकायका जनशक्तिले जस्तै तालिम लिएका र उत्तिकै अनुशासित मानिएका करिब ९० हजार जनशक्ति कहाँ छ? राज्यसँग यसको कुनै रेकर्ड छैन। राष्ट्रिय सेवा दलका प्रशिक्षार्थीले चार सुरक्षा निकायकै जनशक्तिले जसरी नै तालिम पाएका हुन्छन्।
देशमा सेनाले मात्रै सम्हाल्न नसक्ने गरी संकट आइपर्दा परिचालन गर्ने हिसाबले २००८ सालमा पहिलो पटक लगभग ९० जनालाई सैन्य तालिम दिइएको तथ्यांक छ। तत्कालीन शाही सेनाले तालिम दिएकामध्ये तेजलाल श्रेष्ठ र बद्रीराज पाण्डेका तस्बिर मात्रै राष्ट्रिय सेवा दलको ‘हल अफ फेम’मा राखिएका छन्। कुनै क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई विशेष रूपमा सम्मान गर्न ‘हल अफ फेम’को व्यवस्था गरिएको हुन्छ। राष्ट्रिय सेवा दलका महानिर्देशक यमप्रसाद ढकालका अनुसार अन्य जीवित प्रशिक्षार्थीहरूको पनि खोजी भइरहेको छ। त्यसपछि २०२२ सालयता लगभग सैन्य तालिमसरह नै गैरसैनिक युवालाई राष्ट्रिय सेवा दलको तालिम निरन्तर दिन थालिएको हो।
राष्ट्रिय सेवा दलको तालिम लिनेमध्येका एक हुन्, अर्थशास्त्री एवं पूर्वराजदूत विश्वम्भर प्याकुरेल। उक्त वर्ष करिब पाँच सय जनाले दुई वर्षको राष्ट्रिय सेवा दल क्याडेट तालिम लिएको प्याकुरेल बताउँछन्। युवाहरूलाई अनुशासन सिकाउन, आफ्नो काम आफैं गर्न सक्ने गरी मनोबल बढाउन, शारीरिक रूपमा तन्दुरुस्त राख्न र आवश्यक पर्दा युद्धमा समेत परिचालन गर्न उक्त तालिम दिने गरिएको प्याकुरेलको बुझाइ छ।
सिंहदरबारबाट ल्याएर राइफल चलाउनेदेखि विपद् उद्धार गर्नेसम्मको तालिम प्राप्त गरे पनि राष्ट्रिय सेवा दलका दक्ष जनशक्तिको राम्रो सदुपयोग हुन नसकेको प्याकुरेलको बुझाइ छ। त्यसैगरी राष्ट्रिय सेवा दलको तालिम लिने अर्का पात्र हुन् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल। उनले २०२७ देखि २०२८ सम्म राष्ट्रिय सेवा दलको तालिम लिएको भन्दै ‘हल अफ फेम’मा उनको तस्बिर राखिएको छ।
त्यसपछिका हरेक वर्ष करिब पाँच सय मात्रै राष्ट्रिय सेवा दलका क्याडेट उत्पादन हुँदै आएका थिए। २०७२ सालमा भने एकै वर्षमा दुई सय जना विद्यार्थीलाई तालिम दिएर यसको उपस्थिति बढाइएको थियो। सरकारले विद्यालय तहमै रहेका विद्यार्थीहरूलाई अनुशासित, उच्च नैतिकतावान् र आवश्यक पर्दा प्राकृतिक विपद्पछिको उद्धार तथा संकटका बेला सुरक्षामा समेत प्रयोग गर्न सक्ने गरी हरेक वर्ष संख्या बढाउँदै लगेको छ। २०७३ सालमा आएर एक वर्षमै चार हजार विद्यार्थीले एनसिसी क्याडेट तालिम लिएका थिए। २०७५ सालमा ६ हजार र त्यसयता हरेक वर्ष सात हजार सात सय १० जनाले तालिम प्राप्त गर्दै आएका छन्।
नेपाली सेनाबाट तालिम प्राप्त राष्ट्रिय सेवा दलको प्रशिक्षित जनशक्ति ८९ हजार आठ सय ९४ पुगेको छ तर उनीहरू कहाँ छन् भन्ने यकिन जानकारी सरकारी संयन्त्रसँग छैन। हरेक वर्ष तालिम लिने सात हजारभन्दा बढी युवा जनशक्ति कहाँ र कसरी प्रयोग गर्ने भन्ने स्पष्टता नहुँदा राज्यले लगानी गरेर उत्पादन गरेको तालिम प्राप्त जनशक्तिको आवश्यक परिचालन हुन सकेको छैन। राष्ट्रिय सेवा दलका महानिर्देशक ढकालका अनुसार २०२७ सालमा कानुन बनाइएको भए पनि त्यसमा एनसिसीको संगठन निर्माणसम्बन्धी स्पष्ट व्यवस्था थिएन अर्थात् निर्देशिकाबाटै एनसिसी चलिरहेको थियो।
अहिले सरकारले प्रतिनिधिसभामा पेस गरेको विधेयकमा भने केन्द्रदेखि जिल्लासम्म एनसिसी अल्मुनाई गठन गर्ने व्यवस्था गरेको छ। तालिम प्राप्त विद्यार्थीहरूकै अल्मुनाई एसोसिएसन बनेपछि उनीहरूमार्फत नै आवश्यक पर्दा उनीहरूको खोजी र परिचालन गर्न सकिने महानिर्देशक ढकालको बुझाइ छ।
एनसिसी तालिमका लागि विद्यार्थीको छनोट कसरी हुन्छ ?
राष्ट्रिय सेवा दलको तालिम लिन विद्यालयहरूबाटै विद्यार्थीको छनोट गरिन्छ। अहिले हरेक वर्ष सात हजार सात सय १० जनाले तालिम पाउँदै आएका छन्। त्यसका लागि नेपाली सेनाले दिने तालिममा देशभरका दुई सय ५७ वटा विद्यालयबाट ३० जनाका दरले छनोट गर्ने गरेको छ। ३० जनामा १५ किशोर र १५ किशोरी सहभागी गराइने तालिमको तह छ। जुनियर डिभिजनका लागि कक्षा ८ देखि १० सम्म अध्ययनरत १४ वर्ष पूरा भएका छात्र तथा छात्रा छनोट गरिन्छ भने सिनियर डिभिजनका लागि कक्षा ११ र १२ कक्षामा अध्ययनरत १७ वर्ष पुगेकाहरू सहभागी हुन सक्नेछन्। त्यसका लागि विद्यालय र अभिभावकको समेत अनुमति लिनुपर्छ।
जुनियर डिभिजनका ७९ दिनको शारीरिक तालिममा शिक्षार्थीले विपद् व्यवस्थापन तथा उद्धार, ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, घोडचढी, बाधापार, रक क्लाइम्बिङजस्ता तालिम लिन्छन्। २१ दिन क्याम्पमा राखेर सैनिक कला र ज्ञानसँगै व्यक्तित्व विकास र अनुशासन पढाउने गरिएको छ। ‘राष्ट्रिय सेवा दल नागरिकलाई सैनिक बनाउने नभई राष्ट्रिय भाव जागृत गराउने र अनुशासन सिकाउने तथा विपद्मा आवश्यक पर्दा परिचालन गर्न सकिने जनशक्ति हो। यसअघि ती जनशक्ति कहाँ छन् भन्ने थाहा हुँदैनथ्यो। नयाँ कानुनले अल्मुनाई बनाउन सक्ने अधिकार दिएपछि अब उनीहरूको आफ्नै सञ्जाल बनाउन सजिलो हुने भएको छ,’ महानिर्देशक ढकालले भने।
पूर्वप्रशिक्षार्थी प्याकुरेल एनसिसीको तालिमप्राप्त जनशक्ति कहाँ र कसरी परिचालन गर्ने भन्ने स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिन्छन्। अब विपद् उद्धार, आन्तरिक सुरक्षालगायत कहाँ कस्तो क्षमता आवश्यक पर्छ भनेर विशिष्टीकृत जनशक्ति तयार पार्नुपर्ने उनको सुझाव छ। अहिले तालिमप्राप्त एनसिसी क्याडेटहरूले विपद् उद्धारमा पनि काम गरिरहेको, रक्तदानदेखि स्वास्थ्य शिविरहरू सञ्चालन गरेको र आगामी दिनमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक ठाउँमा परिचालन हुन सक्ने गरी संयन्त्र तयार हुने महानिर्देशक ढकालले बताए। नेपालमा तालिम लिएका राष्ट्रिय सेवा दलका शिक्षार्थीहरूलाई भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र सिंगापुरका शिक्षालय भ्रमण गराउने गरिएको छ। २०२७ सालको कानुन खारेज गर्दै ५६ वर्षपछि नयाँ ऐन आउन लागेको छ। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया