असोज १९, २०८३ सोमबार October 5, 2026

घोचपेचको थलो बन्यो ‘खुलामञ्च’

कांग्रेसको महाधिवेशनमा सत्ता, प्रतिपक्ष, लोकतन्त्र, निर्वाचन, संविधान, शान्ति प्रक्रिया र नयाँ पुस्ताको राजनीतिसम्मका विषय उठे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : १० वर्षअघि नेपाली कांग्रेसको १३औं महाधिवेशन हुँदै गर्दा काठमाडौंको खुलामञ्च गुल्जार थियो । तत्कालीन परिस्थितिमा राजनीतिक भाषण र नेताहरूका अभिव्यक्ति सुन्न नेता÷कार्यकर्ताको उस्तै उपस्थिति थियो ।

१० वर्षपछि आइतबार कांग्रेसको १५औं महाधिवेशन सोही थलोमा भयो । यसबीचमा अन्य ठुला राजनीतिक कार्यक्रम खुलामञ्चमा भएका थिएनन् । आइतबार कांग्रेसको महाधिवेशधन उद्घाटन हुँदै गर्दा खुलामञ्च फेरि राजनीतिक विचार–विमर्श गर्ने थलो बन्यो ।

कांग्रेसको महाधिवेशन उद्घाटन भए पनि खुलामञ्चमा आइतबार कांग्रेसको मात्रै कुरा भएन, अरू दलका नेताहरू पनि आए र कांग्रेसको मञ्चबाटै आफ्ना राजनीतिक सन्देश सुनाए ।

कांग्रेस सभापति गगन थापाले खुलामञ्चको प्रसंगबाटै संसद्, राजनीतिक दल, समाज र सामाजिक सञ्जालमा खुलापनको कुरा गरे । जनताका प्रश्न, असहमति र फरक विचार राख्ने ठाउँ सबै क्षेत्रमा आवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्री संसद्मा जवाफदेही रूपमा उपस्थित हुनुपर्ने विषय राखे । अर्थात्, सरकारप्रति सभापति थापाले औंला ठड्याए ।

खुलामञ्चमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई, एमालेका महासचिव शंकर पोखरेल लगायत उपस्थित थिए । उनीहरूले कांग्रेसको मञ्चमार्फत लोकतन्त्र र विधिको शासनको वकालत गरे ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको चिन्ता नगर्न सुझाए । अनि सरकार ढाल्न सडक आन्दोलन गर्ने कुरा नगर्न चेतावनी दिए ।

रविको सन्देश छ, ‘रास्वपालाई विस्थापित गर्ने उपाय निर्वाचन हो । आन्दोलनबाट सरकार ढाल्ने होइन, अब चुनावबाट सरकार फेरौं ।’

सभापति लामिछाने यतिमा रोकिएनन् । सरकार ढल्ने हल्लाप्रति कटाक्ष गर्दै उनले दसैं, तिहार, छठ वा नेपाल संवत्मा सरकार ढल्ने भनेर जति चर्चा गरे पनि सरकार नढल्ने दाबी गरे ।

अर्कोतिर, नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका प्रचण्डले शान्ति प्रक्रिया सम्झिए । आफ्नो राजनीतिक यात्रामा युद्धबाट शान्ति प्रक्रिया, शान्ति प्रक्रियाबाट संविधान र संविधानबाट गणतन्त्रसम्म पुग्नुलाई ‘क्रमभंग’का रूपमा व्याख्या गरे । अब त्यस्तो क्रमभंग गर्ने पालो गगन र रविको भएको उनको भनाइ थियो । ‘अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ,’ प्रचण्डले भने, ‘तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल ।’

प्रचण्डले यहीँनेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको बाँकी काम पुरा गर्नुपर्ने विषय सम्झाए । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने जिम्मेवारी गगन थापाको काँधमा रहेको बताए ।

गगनले माओवादी युद्धलाई ‘हिंसा’ भनेर टिप्पणी गरे । प्रचण्डले त्यही इतिहासलाई आफ्नो राजनीतिक ‘क्रमभंग’को यात्राका रूपमा प्रस्तुत गरे ।

नेकपा एमाले महासचिव शंकर पोखरेलको चिन्ता भने अर्कै थियो । उनले लोकतन्त्र र मुलुकको भविष्यलाई लिएर प्रश्न उठाए । पछिल्लो राजनीतिक परिस्थिति र भूराजनीतिक द्वन्द्वले नेपालको भविष्यबारे प्रश्न खडा गरेको उनको भनाइ थियो । महासचिव पोखरेलले सरकार र राजनीतिक दलबीच संवाद नभएको विषय पनि उठाए ।

विशेषगरी राष्ट्रिय मुद्दामा रवि लामिछानेले दलहरूलाई संवादमा ल्याउन गरेको प्रयास स्मरण गर्दै उनले प्रश्न गरे, ‘रास्वपा सभापतिले संवादको प्रयास गर्दा सरकार किन संवादमा आउँदैन ?’

अर्थात्, यसरी एउटै मञ्चमा उभिएका नेताहरूका प्राथमिकता फरक थिए । ब्यानर कांग्रेसको महाधिवेशन थियो, तर भाषणमा कांग्रेस मात्रै थिएन । सत्ता, प्रतिपक्ष, लोकतन्त्र, निर्वाचन, संविधान, शान्ति प्रक्रिया र नयाँ पुस्ताको राजनीतिसम्मका विषय उठे ।

जहाँ एकातिर सबै दल एकै ठाउँमा रहने राजनीतिक संस्कारले निरन्तरता पायो । अर्कोतिर तर्क र तथ्यलाई आफूअनुकूल व्याख्या गर्दै राजनीतिक घोचपेच गर्ने थलो पनि त्यही महाधिवेशन उद्घाटनस्थल खुलामञ्च बन्यो ।

आइतबार सुरु भएको महाधिवेशनले कांग्रेसका नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको राजनीतिक र आर्थिक प्रतिवेदनमाथि समेत छलफल हुने उक्त महाधिवेशनमा ७ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया