असोज १९, २०८३ सोमबार October 5, 2026

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परि मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, १९ असोज : यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब पाँच सय ५० घरपरिवार प्रभावित भएका छन् ।

एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र तीन सय ४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र एक सय ८३ घर जोखिममा परेका छन् ।

बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन् । मंगला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रजिअ आचार्यले बताउनुभयो । यसैगरी रघुगंगा गाउँपालिकामा छ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन् ।

मालिका गाउँपालिकामा तीन घरमा पूर्ण, एकमा आंशिक क्षति र तीन घर जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकामा चार घरमा पूर्ण, सातमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन् ।

५६ वटा गोठ भत्किएर, पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका एक सय १५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । विस्थापितहरुलाई सडक यातायात अवरुद्ध भएकाले बेनी देखि हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक÷एक जना वेपत्ता भएका छन् । पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिचाई, कृषि, पशुपंक्षि लगायत क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको छ । पूर्ण विवरण संकलन हुदाँसम्म क्षतिको संख्या बढ्ने प्रशासनको भनाई छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया