असोज १९, २०८३ सोमबार October 5, 2026

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेपछी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ, १९ असोजः दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् ।

उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिनुभयो ।

डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उहाँले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिनुभयो । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उहाँको भनाइ छ ।

डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गर्नुभएका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुग्नुभएको हो । हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ ।

रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उहाँले बताउनुभयो ।

माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको रोकायाले बताउनुभयो । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उहाँको भनाइ छ ।

डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको रोकायाले बताउनुभयो ।

च्याङ्ग्रा व्यापारी शेरबहादुर रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजार बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो ।

बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताउनुभयो । “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
२०८३ असोज १९, सोमबार
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
२०८३ असोज १९, सोमबार
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार