काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बाढी आएको एक महिना बितिसक्दा पनि प्रभावितको पुनर्वास प्रक्रिया अन्योलमै छ । गत भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति पु¥याए पनि प्रभावित क्षेत्र अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।
बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना, कृषि भूमि तथा अन्य पूर्वाधारमा क्षति पुर्याएको थियो । कतिपय संरचना अझै भग्नावशेषकै अवस्थामा छन् । विस्थापित परिवारमध्ये केही थातथलो छाडेर काठमाडौंको एल्लो गुम्बालगायत स्थानमा आफन्तको आश्रयमा बसिरहेका छन् ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार, बाढी तथा पहिरो प्रभावित परिवारको विवरण संकलन अन्तिम चरणमा पुगेको छ । सरकारले अस्थायी बसोबासका लागि घरभाडामा बस्न चाहने प्रभावित परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको उनले बताए ।
‘सरकारले अस्थायी बसोबासका लागि घरभाडा लिन चाहने प्रभावित परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ,’ उनले भने, ‘सम्बन्धित स्थानीय तहले प्रभावित परिवारको विवरण संकलन गरी सकेपछि घरभाडाबापतको रकम उपलब्ध गराइने तयारी छ ।’ तर दसैंअघि सबै प्रभावितको बसोबास व्यवस्थापन पूरा हुने अवस्था छैन । घरभाडामा बस्न चाहनेले विवरण संकलनपछि रकम पाउने भए पनि अस्थायी र स्थायी आवास निर्माण तथा व्यवस्थापनमा थप समय लाग्ने देखिएको छ ।
घरभाडामा बस्न नचाहने प्रभावितका लागि सरकारले अस्थायी आवासको व्यवस्था गर्ने र त्यसपछि स्थायी पुनस्र्थापनातर्फ लैजाने तयारी गरेको रेग्मीले बताए । ‘दसैंअघि नै बाढीप्रभावितहरूको पर्नवासका लागि सम्भव छैन,’ उनले भने, ‘दसैं नजिकै आइसक्यो तर पुनर्वासको काम धेरै नै बाँकी छ ।’
बाढीपछि नुवाकोटका चार स्थानीय तहमा मात्रै एक हजार ९५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । विदुर नगरपालिकामा मात्रै एक हजार ६७८ परिवारको आवासमा क्षति पुगेको जनाइएको छ ।
प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाडाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ । विदुर नगरपालिकाले बस्नयोग्य घर नभएका प्रभावित परिवारलाई कोठा भाडामा लिएर बस्न प्रतिपरिवार मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
हाल नुवाकोटका होल्डिङ सेन्टरमा करिब दुई सयजनाले आश्रय लिइरहेका छन् । केही प्रभावित आफन्त तथा अन्य स्थानमा बसिरहेका छन् भने केहीले अझै कोठा भाडामा लिएर बस्ने प्रक्रिया पूरा गर्न बाँकी रहेको रेग्मीले बताए ।
बाढीप्रभावितको पछिल्लो यकिन संख्या संकलन भइरहेको छ । नुवाकोटमा २६ जना अझै बेपत्ता रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायबाट प्राप्त विवरण अद्यावधिक गर्ने काम भइरहेको छ ।
रसुवामा पुनर्वासको तयारी
रसुवामा भने पुनर्वास कार्यक्रम चाँडै सुरु गर्ने तयारी भइरहेको प्रजिअ कमलप्रसाद पाण्डेले बताए । त्यसका लागि सम्बन्धित सिफारिस समितिमा पेस गरिएको उनले जानकारी दिए ।
उनका अनुसार होल्डिङ सेन्टरमा बस्ने प्रभावितले आफ्नो इच्छाअनुसार जति समय पनि बस्न सक्ने व्यवस्था छ । होल्डिङ सेन्टरमा बस्ने मानिसको संख्या भने घटिरहेको छ । ‘बाढीप्रभावित क्षेत्रमा बस्न नचाहनेहरू काठमाडौंका कोठा भाडा लिएर आफूअनुकुल बस्न थालेका छन्,’ पाण्डेले भने ।
सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनअनुसार बाढीबाट चार खर्ब आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान छ । पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भने सात खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ ।
सरकारी प्रारम्भिक मूल्यांकनअनुसार करिब सात हजार ५७० घरमा क्षति पुगेको छ भने पाँच जिल्लाका करिब ३२ हजार ९६३ मानिस प्रत्यक्ष प्रभावित भएका छन् । संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चारजनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि दुई हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । आवास भाडामा बस्न नचाहने परिवारका लागि अस्थायी आवासको विकल्पसमेत अघि सारिएको छ ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया