काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नुवाकोटका नेता जगदीश्वरनरसिंह केसीले महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि कांग्रेसको संगठन निर्माण, पार्टीको विचार र जनताका सवालमा सक्रिय रहँदै आएका केसीले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका हुन्।
कांग्रेसभित्र संगठनलाई थप प्रभावकारी बनाउँदै नयाँ पुस्तालाई समेट्ने तथा संघर्षशील नेतृत्व स्थापित गर्ने आवश्यकताका बीच केसीको उम्मेदवारीको तयारीलाई हेरिएको छ। उनले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुँदै कांग्रेसको संगठन विस्तार र कार्यकर्ता तथा जनताका मुद्दामा निरन्तर काम गर्दै आएको बताइन्छ।
नुवाकोट क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका केसी स्थानीयस्तरमा कार्यकर्ता र जनतासँग निरन्तर सम्पर्कमा रहने नेताका रूपमा परिचित छन्। कांग्रेसको संगठन निर्माण, कार्यकर्ता संरक्षण तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै उनले लामो समयदेखि राजनीतिक गतिविधिमा सक्रियता जनाउँदै आएका छन्।
केसीले राजनीतिलाई पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यमभन्दा पनि जनताको सुख–दुःखमा साथ दिने जिम्मेवारीका रूपमा लिँदै आएको बताउने गरेका छन्। उनका राजनीतिक गतिविधिमा संगठन निर्माणसँगै लोकतान्त्रिक अधिकार र जनजीविकासँग सम्बन्धित विषय उठाउँदै आएको पक्षलाई जोड दिइएको छ।
वि.सं. २०६२/६३ को जनआन्दोलनका क्रममा काठमाडौंको गोंगबु तथा सामाखुसी क्षेत्रमा भएका आन्दोलनमा समेत केसीले सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा सहभागी हुँदै उनले राजनीतिक संघर्षमा आफ्नो उपस्थिति जनाएका थिए।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रामा पार्टी संगठन, आन्दोलन तथा जनसरोकारका विषय निरन्तर जोडिँदै आएका छन्। कांग्रेसको आगामी महाधिवेशनलाई पार्टीको संगठनात्मक तथा राजनीतिक दिशाका विषयमा बहस गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइरहेका बेला केसीले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्।
महामन्त्री पदमा उम्मेदवारी दिने तयारीसँगै केसीले पार्टीको संगठनलाई थप चलायमान बनाउने, कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउने तथा कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पदमा आकांक्षीहरूले आफ्नो उम्मेदवारीबारे छलफल र तयारी तीव्र बनाइरहेका छन्। यही क्रममा नुवाकोटका केसीको महामन्त्री पदमा उम्मेदवारीको तयारीले पनि कांग्रेसभित्रको महाधिवेशन केन्द्रित राजनीतिक गतिविधिलाई थप रोचक बनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया