गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
यसअघि तीन जनाको मृत्यु भएको घोषणा गरिएकोमा उपचारका क्रममा थप दुई जना बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
उपरीक्षक कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना घाइतेको उपचार जारी छ । दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए ।
दुर्घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ । मृत्यु भएका विद्यार्थीको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सम्पन्न भएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया