असोज २५, २०८३ आइतबार October 11, 2026

सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ

सबै पक्षबाट प्राप्त सुझावहरूलाई समेटेर बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठकबाटै ठोस कार्ययोजना निर्माण गरिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि पार्टीप्रति असन्तुष्ट बनेर बाहिरिएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई पुनः पार्टीमै फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित धन्यवाद तथा सम्बोधन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा थापा ६,५८४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए।

सम्बोधनका क्रममा नवनिर्वाचित सभापति थापाले भने, “जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीका नेताहरू मात्रै होइन, त्योभन्दा बढी पार्टीका शुभचिन्तक र समर्थकतगायत ती लाखौँ मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्ष अगाडिदेखि हाम्रा कामहरू चित्त नबुझाएर हामीलाई छाडेर जानुभएको छ- ती सबै साथीहरूलाई हामी कांग्रेसमै फर्काउँछौँ।” उनले असन्तुष्ट बनेका सबैलाई फेरि कांग्रेसको घरमै फर्कौँ फर्कौँ लाग्ने वातावरण बनाएरै छाड्ने दृढतासमेत व्यक्त गरे।

नागरिकको गुमेको विश्वास पुनः जित्ने गरी पार्टीलाई आमूल रूपान्तरण गर्ने घोषणा गर्दै थापाले आफूले प्राप्त गरेको सभापति पदलाई अधिकार नभई ठूलो जिम्मेवारी र जवाफदेहिताका रूपमा लिएको बताए।

“तपाईँहरूले विश्वास गरेर पार्टीको यो ठूलो जिम्मेवारी सुम्पिनुभएको छ। म यो विश्वासप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो पार्टीभित्र परिवर्तनका लागि गरिएको विश्वास हो, त्यसैले यसलाई अधिकार सम्झिने गल्ती गर्दिनँ, पूर्ण रूपमा जिम्मेवारी मान्नेछु,” उनले भने।

केवल नेतृत्व परिवर्तन हुँदैमा वा नयाँ अनुहार आउँदैमा मात्रै पार्टीको वास्तविक रुपान्तरण नहुने उल्लेख गर्दै उनले अब कांग्रेसको काम गर्ने शैली, सोच र संस्कृतिमै परिवर्तन ल्याउनुपर्ने बताए। महाधिवेशनको प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिँदै उनले भने, “लोकतान्त्रिक प्रक्रियामा कोही जित्छौँ, कोही हार्छौँ। तर यो कसैको व्यक्तिगत विजय वा पराजयको विषय होइन। अब हामी सबै साथीहरू हातेमालो गर्दै नागरिकको विश्वास जित्न जनताको घरदैलोमा जानेछौँ।”

सभापति पदमा आफूसँग प्रतिस्पर्धा गरेका नेता श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै थापाले लोकतान्त्रिक अभ्यासले नै पार्टीलाई जीवन्त राख्ने बताए। उनले खड्गीसहित प्रतिस्पर्धामा रहेका सम्पूर्ण पक्ष र नेता-कार्यकर्तालाई समेटेर एकीकृत रूपमा अगाडि बढ्ने स्पष्ट पारे।

वर्तमान समयमा नागरिक र कांग्रेसबीचको विश्वासको कडी कमजोर बनेको स्वीकार गर्दै उनले त्यसलाई पुनःस्थापित गर्न सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। देशका किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका युवाहरूसम्मले भरोसा गर्न सक्ने नयाँ र आधुनिक कांग्रेस बनाउने आफ्नो संकल्प रहेको उनले बताए।

“नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने माहोल बनाउनुपर्छ। हामी नयाँ इतिहास र नयाँ ऊर्जा बोकेर आएका छौँ, अब केवल बोलेर होइन, काम गर्ने शैली बदलेर परिवर्तन प्रमाणित गर्छौँ,” थापाले भने।

महाधिवेशनबाट पारित भएका विभिन्न नीतिगत प्रतिवेदनहरू अध्ययनका लागि एक साताको समय तोकिएको जानकारी दिँदै उनले सबै पक्षबाट प्राप्त सुझावहरूलाई समेटेर बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठकबाटै ठोस कार्ययोजना निर्माण गरिने जनाए।

यसैगरी, कांग्रेसले विगतका कमीकमजोरीलाई सुधार्दै गलत व्यक्तिको पक्षमा नउभिने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पारे। कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले पार्टीका कुनै पनि व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने बताए। “कांग्रेस कुनै पनि गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन र कसैको अनुचित भारी पनि बोक्दैन,” उनले स्पष्ट पारे।

पार्टीलाई व्यक्तिगत स्वार्थ र गुटबन्दीभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मूल मान्यताअनुसार सुशासित ढङ्गले अघि बढाउने प्रतिबद्धता जनाउँदै नवनिर्वाचित सभापति थापाले १५औँ महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई व्यवहारमा उतारेर जनताको विश्वास जित्ने नै आफ्नो मुख्य ध्येय रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार