काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) ले सरकारद्वारा विभिन्न पाँच मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मंगलबार बिहान ९:३० बजेदेखि समितिको उन्नाइसौँ बैठक सुरु भएको हो।
यसअघि सर्वसाधारण तथा सरोकारवालाहरूबाट प्राप्त उजुरीहरूमाथि छलफल र उजुरीकर्ताहरूसँग परामर्श गरिसकेपछि समितिले आज प्रस्तावित राजदूतहरूलाई नै बैठकमा आमन्त्रण गरी प्रत्यक्ष सुनुवाइ अघि बढाएको हो।
आजको बैठकमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी (काठमाडौं), इजरायलका लागि सुरेश कुमार कर्ण (कैलाली), ओमानका लागि पदमाक्षी राणा (काठमाडौं), दक्षिण कोरिया (गणतन्त्र कोरिया) का लागि प्रा. डा. संगम श्रेष्ठ (तनहुँ) र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ भइरहेको छ।
सुनुवाइ क्रममा समितिले सिफारिस गरिएका व्यक्तिहरूको कार्ययोग्यता, कूटनीतिक अनुभव, सम्बन्धित देशहरूसँगको द्विदेशीय सम्बन्ध सुदृढ बनाउने कार्ययोजना तथा अवधारणापत्रमाथि विस्तृत छलफल गरिरहेको छ।
सरकारले विभिन्न मुलुकका लागि राजदूत सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सर्वसाधारणबाट उजुरी आह्वान गरी सोमाथि छानबिन गरेपछि मात्र सम्बन्धित व्यक्तिलाई बोलाएर सुनुवाइ गर्ने कानुनी व्यवस्था छ।
सुनुवाइ समितिबाट प्रस्तावित नामहरू अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया