काठमाण्डौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।
सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।
खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यो संगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।
जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । र, पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । कोलकाता भने पाँचौं स्थानमा झरेको छ । कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया