कार्तिक २, २०८३ सोमबार October 19, 2026

अमेरिकी आक्रमण भए ठूलो क्षति पुर्याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी

अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, २ कात्तिक । इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनःसुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभएको छ ।

इरानी संसद्बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताउनुभयो । तर, त्यस्तो कदम चालिए अमेरिका र सम्पूर्ण क्षेत्रले गम्भीर परिणाम भोग्नुपर्ने उहाँको भनाइ थियो ।

“जनता ढुक्क भए हुन्छ, उनीहरूले हामीमाथि आक्रमण गर्ने आँट गर्ने सम्भावना निकै कम छ । तर, यदि उनीहरूले त्यसो गरे भने, उनीहरू आफैँ र सम्पूर्ण क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्नेछ”, अखलाघीले भन्नुभयो ।

इरानी संसद्का सदस्यहरूले उहाँलाई नयाँ रक्षामन्त्रीका रूपमा नियुक्त गर्न अनुमोदन गरेका हुन् । सरकारी टेलिभिजनका अनुसार, आइतबार भएको मतदानमा उहाँले खसेको कुल २७७ मतमध्ये २३७ मत प्राप्त गर्नुभएको थियो । उहाँले रक्षा तथा सशस्त्र बलको रसदसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

अखलाघीले पूर्वरक्षामन्त्री अजिज नासिरजादेहको स्थान लिनुभएको छ । नासिरजादेहको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मृत्यु भएको थियो । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डरहरू पनि मारिएका थिए ।

इरानको सरकारी समाचार संस्था आइएसएनएका अनुसार, मतदानअघि अखलाघीले आफूले जिम्मेवारी पाए देशको रक्षाका लागि संवेदनशील परिस्थितिको गहन विश्लेषण र पूर्ण तयारी आवश्यक हुने बताउनुभएको थियो ।

उहाँले वर्तमान परिस्थितिको सही मूल्याङ्कन, घटनाक्रम पछाडिका कारणको बुझाइ, प्रभाव पार्ने प्रवृत्तिको पहिचान तथा भविष्यमा उत्पन्न हुनसक्ने विभिन्न अवस्थाको सामना गर्ने तयारीलाई देशको रक्षाका लागि महत्वपूर्ण मान्नुभएको छ ।

सैन्य दर्जा नभए पनि अखलाघीले इरानको रक्षा मन्त्रालयमा ४२ वर्ष काम गरिसक्नुभएको छ । सन् २०१३ देखि उहाँले इरानको सरकारी हतियार उत्पादक निकाय रक्षा उद्योग सङ्गठनको नेतृत्वसमेत सम्हाल्दै आउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा अखलाघीमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिका र इजरायलको आक्रमणपछि इरानले प्रतिकारस्वरूप विभिन्न सैन्य कारबाही सञ्चालन गरेको थियो । यस्तो अवस्थामा नयाँ रक्षामन्त्रीको चेतावनीले मध्यपूर्वमा पुनःसैन्य तनाव बढ्नसक्ने चिन्ता थपिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया