कार्तिक ९, २०८३ सोमबार October 26, 2026

राष्ट्रियता र राष्ट्रिय हितको विषय पुनः बहसमा

‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ अभिव्यक्तिले सकसमा पर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालको राजनीतिमा राष्ट्रियता, राष्ट्रिय हित र नेपाली राष्ट्रवादको विषय पुनः बहसमा आएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही दिनअघि भारतको राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रवादबारे दिएको अभिव्यक्तिले राष्ट्रियता र राष्ट्रिय हितको विषय पुनः चर्चामा आएको हो ।

अर्थमन्त्री डा. वाग्लेले यही कात्तिक ६ गते नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधनको क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ अभिव्यक्ति दिनुभएको थियो । अर्थमन्त्रीको सोही अभिव्यक्तिले नेपालको राजनीतिमा तरंग उत्पन्न मात्र भएको छैन विवाद नै सिर्जना भएको छ । सम्बोधनका क्रममा नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको जिकिर गर्नुभएका अर्थमन्त्री वाग्लेले रास्वपा नेतृत्वको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्‍याउन चाहेको उल्लेख गर्दै भन्नुभयो, ‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एक–अर्कासँग दृढ रूपमा जोडिएका छौँ । भारतसँगको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन । कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ ।’

नेपाल र भारतबीच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको उल्लेख गर्दै वाग्लेले भन्नुभयो, ‘नेपालको नयाँ नेतृत्व भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहन्छ ।’ वाग्लेको उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै नेपालमा विरोध सुरु भएको छ । पूर्व–परराष्ट्रमन्त्री कमल थापा, नेकपा एमालेको सचिव राजन भट्टराई, एमालेकै नेता गोकुल बास्कोटा लगायतले अर्थमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् । विपक्षी दल नेकपा एमालेले संस्थागत रूपमै अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेपाली राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन : नेकपा एमाले

नेकपा एमालेले ‘नेपाली राष्ट्रवादलाई एन्टी इन्डियनिज्मसँग जोड्ने युग सकिएको’ भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा व्यक्त गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको भन्दै एमाले प्रचारप्रसार विभाग प्रमुख नीरज आचार्यले अर्थमन्त्री डा. वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादबारे व्यक्त गरेको धारणामाथि प्रश्न उठाउनुभएको हो । नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित रहेको उल्लेख गर्दै प्रचार विभाग प्रमुख आचार्यले आधारभूत तथ्यबारे अर्थमन्त्री वाग्ले अनभिज्ञ छन् भन्ने नलागेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अंग भएको उल्लेख गर्दै प्रचार विभाग प्रमुख आचार्यले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति भारत भ्रमणका क्रममा दिनुको राजनीतिक सन्देश र कूटनीतिक औचित्यबारे प्रश्न उठ्छन् । नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन । त्यसैले, भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन ।’

नेपाली राष्ट्रवादलाई भारत-विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रमुख आचार्यले भन्नुभयो, ‘छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन । मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर तुम शरणम गर्ने धारणा दुवै अतिवादी सोच हुन् ।’

नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन : पूर्व-परराष्ट्रमन्त्री थापा

पूर्व-परराष्ट्रमन्त्रीसमेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गर्नुभएको छ । अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएका थापाले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुक विशेषको विरोधमा टिकेको छैन । विदेशी मञ्चमा पुगेर भारतविरोधी राष्ट्रवादको युग सकियो भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’

सानो समूहको केही अपवादमूलक धारणालाई लिएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु अर्थमन्त्री डा. वाग्लेको पूर्वाग्रही चस्माको उपज भएको टिप्पणी गर्दै थापाले लेख्नुभएको छ, ‘सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दी जस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो । के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मनरो डक्ट्रिन’ कै उपज त होइन ?’ डा.वाग्लेले दिल्लीमा दिएको अभिव्यक्तिउपर सरकारको धारणा माग गर्नुभएका थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो ।’

अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् : बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले भारत भ्रमणका क्रममा अर्थमन्त्रीले व्यक्त गरेको धारणाको आलोचना गर्नुभएको छ । नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बास्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’

एमालेका सचिव डा. राजन भट्टराईले नेपालको राष्ट्रिय हितका विषय उठाउँदा भारतविरोधी वा उग्र राष्ट्रवादीको संज्ञा दिने प्रवृत्तिमाथि प्रश्न उठाउनुभएको छ । राजनीतिक दलका नेताहरू मात्र नभई राजनीतिक क्षेत्रका जानकारहरुले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् । राजनीतिक विश्लेषक डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक रूपमा आलोचना गर्दै लेख्नुभएको छ, ‘स्वर्णिमजीले ठिकै भन्नुभएको हो, भारतविरोधी राष्ट्रवादको युग समाप्त भयो । तर, प्रधानमन्त्री बालेन शाहका चुनाव अघिका फक यु’वाला स्टाटस, ग्रेटर नेपालको नक्सा, चुच्चे नक्साको जमिन फिर्ता गर्ने वाचा के हुन्छ ? कि ती सबै चुनाव जित्ने हत्कण्डा मात्रै थिए ? यसको उत्तरबिनाको सस्तो चाकरी कसले पत्याउला वाग्लेजी ?’

त्रिविका प्राध्यापकको टिप्पणी : ‘दिल्लीलाई खुसी पार्ने भाषण किन ?’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का अर्थशास्त्रका प्राध्यापक डा.तारा भुसालले नेपाली राष्ट्रवादबारे अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गर्नुभएको छ । एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेको सम्बोधन र अभिव्यक्तिहरू सुनिएको उल्लेख गर्नुभएका डा. भुसालले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै लेख्नुभएको छ, ‘एक देशको बहालवाला अर्थमन्त्रीले अर्को देशका विदेशमन्त्रीलाई ग्यालरीबाट प्रश्न सोध्ने शैली र दिल्लीको राजनीतिक मञ्चमा प्रस्तुत हुने तरिकाले कूटनीतिक मर्यादा (प्रोटोकल) को पालना भयो कि भएन ? यदि यो भ्रमण आगामी दिनमा सत्ता समीकरणका लागि दिल्लीको आशीर्वाद वा वैधानिकता खोज्ने प्रयास हो भने, यसले नेपालको स्वतन्त्र विदेश नीति र राष्ट्रिय स्वाभिमानमा पुनः प्रश्न उठाउँछ ।’

उक्त मञ्चमा डा. वाग्लेले व्यक्त गरेको विचारप्रति पनि प्रश्न उठाउँदै भुसालले लेख्नुभएको छ, ‘भारतविरोधी अन्ध–राष्ट्रवाद गलत हो, त्यसमा दुईमत छैन । तर, भारतविरोधी नहुनुको अर्थ नेपालका वास्तविक आर्थिक र भौगोलिक चासोहरूलाई बिर्सेर भारतीय संस्थापनकै बोलीमा बोली मिलाउनु होइन । अर्थशास्त्री डा.वाग्लेबाट तथ्यमा आधारित र डआत्मसम्मानपूर्ण कूटनीतिको अपेक्षा थियो, केवल दिल्लीलाई खुसी पार्ने भाषणको होइन । अर्थशास्त्रीय दृष्टिकोणबाट नेपाल-भारत सम्बन्धको मुख्य चुरो गैर-भन्सार अवरोध, व्यापार घाटा, ऊर्जा व्यापारमा भारतीय एकाधिकार र कालापानी/लिपुलेक जस्ता विवादित सीमा मुद्दा हुन् । तर, वाग्लेज्यूले आर्थिक सहकार्य र विपत् व्यवस्थापनका सुरक्षित र हलुका विषयमा मात्र कुरा सीमित राख्नुभयो ।’हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया