कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

कांग्रेसमा टिकट वितरण आन्तरिक प्रतिस्पर्धामार्फत

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राजनीतिक दलहरू आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । निर्वाचन आयोगको स्थानीय तह चुनावको मिति तोकेको छैन । संविधानतः आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गरिसक्नु पर्नेछ । आयोगले चुनावको मिति तोक्न बाँकी भए पनि राजनीतिक दलहरू भने निर्वाचनको तयारीमा जुटिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा पहिले स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ ।

रास्वपाले ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्याण्डिडेट क्लबमार्फत आवेदन मागेको छ । दशैँलगत्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईमहिने राजनीतिक अभियान सुरु गरेको छ । गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत पाएको नेकपाले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा विगतको जनमत जोगाउने उद्देश्यले ‘जागरण अभियान’ सुरु गरेको जनाएको छ ।

आन्तरिक विवादका बीच दशैँ अगाडि मात्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस पनि अब आसन्न स्थानीय तह चुनावको तयारीमा जुटेको छ । कांग्रेसले यसपटक डिजिटल मतदानबाट स्थानीय तहका उम्मेदवार चयन गर्ने तयारी गरेको छ । पार्टीका सदस्यहरूले डिजिटल मतदान गरी उम्मेदवार तय गर्ने विधानमा गरिएको व्यवस्थालाई आसन्न स्थानीय तह चुनावबाटै व्यवहारमा लागू गर्ने कांग्रेसको तयारी छ । सुरुमा उम्मेदवारको प्रारम्भिक सूची तयार पारिने र त्यसपछि विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवार तय गर्ने कांग्रेसले जनाएको छ ।

निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्छौं : सभापति थापा

कांग्रेस सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताउनुभएको छ । स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उहाँले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गरेर तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने जानकारी दिँदै भन्नुभयो, ‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिन अगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन । उम्मेदवारहरूको प्रारम्भिक काम पुस-माघमा टुंग्याउँछौँ ।’ डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गर्ने जानकारी दिँदै थापाले भन्नुभयो, ‘सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौँ । उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ । मंसिरको महिना एउटा जागरणको समय बनाऔँ । केन्द्रीय कार्यसमितिको बैठकबाट एउटा कार्यक्रम बनाउँदै छौँ । त्यसपछि पुस र माघको समय हामी चुनाव केन्द्रित कामहरू गर्छौं ।’

गुमाएको विश्वास फर्काउने काममा लाग्न निर्देशन

सभापति थापाले आगामी मंसिर महिनालाई जागरणको महिना बनाउन नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अहिले संगठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो । विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ । जनताको विश्वास पुनःस्थापित गर्न संगठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन् ।’ कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

आन्तरिक प्रतिस्पर्धामा हार्नेलाई क्षमता अनुसारको जिम्मेवारी दिने घोषणा

सभापति थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई पनि समेटेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने दाबी गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्ने उहाँको भनाइ छ । कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्नुभएका थापाले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा र क्षेत्रदेखि विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका साथीहरूलाई पनि अन्य जिम्मेवारी दिएर सक्रिय बनाउने स्पष्ट पार्दै भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन । क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रमा जिम्मेवारी प्राप्त गर्न नसकेका कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन राख्ने परिपाटीको अन्त्य हुन्छ । पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ ।’ कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको जिकिर गर्नुभएको छ । तनहुँमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री पौडेलले अझै पनि जनतामा कांग्रेसप्रति अपार माया र विश्वास रहेको दाबी गर्दै राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीको मात्रै विषयमा अल्झिन नहुने बताउनुभएको हो । महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको दाबी गर्नुभएका पौडेलले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गर्नुभयो । आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको दाबीसमेत गर्नुभएको छ ।

सरकारलाई नेता केसीको चेतावनी : ‘निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना पार हुँदा पनि नेतृत्वको फेरबदलले आम नागरिकको दैनिक जीवनमा कुनै परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । आम नागरिकले चाडपर्वको उत्सवको उल्लासभन्दा पनि महँगी, बेथिति र राजनीतिक उदासीनताको कालो छाया अनुभव गरिरहेको टिप्पणी गर्दै नेता केसीले भन्नुभयो, ‘वर्तमान सरकारका गतिविधिप्रति जनतामा आक्रोश त होइन, व्यापक निराशा बढेको छ । निराशा आक्रोशमा कुनै पनि बेला बदलिन सक्छ भन्ने हेक्का सत्तारूढहरूमा हुनु जरुरी छ । दशैँ–तिहार र छठजस्ता महान् चाडपर्वका बेला आम उपभोक्ताले महसुस गर्नेगरी बजार नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल भएको छ ।’ अचाक्ली मूल्यवृद्धिका कारण मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व खल्लो बन्न पुगेको उल्लेख गर्दै नेता केसीले भन्नुभयो, ‘जेन–जी आन्दोलनको भावना र मर्म तथा निर्वाचनबाट प्राप्त अत्यधिक बहुमतलाई आत्मसात् गर्दै राज्य सञ्चालनको शैली बदल्नुपर्नेमा पुरानै प्रवृत्ति, राजनीतिक पूर्वाग्रह र संस्कारलाई निरन्तरता दिइएको देखिन्छ । राजनीतिक नेतृत्व फेरिए पनि कार्यशैलीमा देखिएको यथास्थितिवादले जनआकांक्षामा गहिरो ठेस पुर्‍याएको छ ।’ हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार
भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं
२०८३ कार्तिक १०, मंगलबार
आजको मुद्रा : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, युरो १७० रुपैयाँ नाघ्यो
२०८३ कार्तिक १०, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दै
२०८३ कार्तिक १०, मंगलबार
सातै प्रदेशमा मौसम बदलीको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने
२०८३ कार्तिक १०, मंगलबार