कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

मुटु र क्यान्सरका रोगी बढ्दै

नेपालमा धूमपानका कारण मात्रै कुल मृत्युको १७.७ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक १९ गते । नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोग तीव्र रूपमा बढ्दै गएको छ । कुनै समय हैजा, झाडापखाला, औलो र क्षयरोग जस्ता सरुवा रोग नियन्त्रणलाई प्रमुख स्वास्थ्य चुनौती मानिने नेपालमा पछिल्लो समय मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह र मिर्गौला रोग  जनस्वास्थ्यका प्रमुख समस्याका रूपमा देखिएका छन् । बदलिँदो खानपान, शारीरिक निष्क्रियता, धूमपान, वायु प्रदूषणलगायत कारणले मानिसमा रोगको भार बढाउँदै लगेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अध्ययनले नसर्ने रोगको बढ्दो भारलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा औँल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा भएका कुल मृत्युमध्ये ६४.५ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अनुमान छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो वार्षिक स्वास्थ्य प्रतिवेदन २०८१/८२ का अनुसार सन् २०२३ मा कुल मृत्युको ७०.२ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको उल्लेख गरेको छ ।

नसर्ने रोगको बढ्दो भारले नेपालको स्वास्थ्य प्रणालीमा उपचारसँगै रोकथाम र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले दीर्घकालीन उपचार आवश्यक पर्ने यस्ता रोगले नागरिकको जीवनको गुणस्तर घटाउनुका साथै परिवारको आर्थिक अवस्था र राज्यको स्वास्थ्य खर्चमा समेत ठुलो दबाब सिर्जना गरिरहेको जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८१/८२ अनुसार सन् २०२३ मा नसर्ने रोगका कारण हुने मृत्यु २०१९ को ६६.८७ प्रतिशतबाट बढेर ७०.२ प्रतिशत पुगेको छ । कुल मृत्युमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगले २७.३६ प्रतिशत, दीर्घ अवरोधात्मक फोक्सोको रोगले १५.९७ प्रतिशत र क्यान्सरले ९.४७ प्रतिशत हिस्सा ओगटेको छ । प्रतिवेदन अनुसार नसर्ने रोगका कारण हुने स्वास्थ्य क्षतिमा उल्लेख्य वृद्धि भएको छ ।

स्वास्थ्य सेवा विभागको प्रतिवेदनमा सन् १९९० र २०२३ को रोगको भार तुलना गर्दा प्रमुख स्वास्थ्य समस्याको स्वरूप नै परिवर्तन भएको देखिन्छ । सन् १९९० मा श्वासप्रश्वासको  सङ्क्रमण र क्षयरोग प्रमुख चुनौती रहेकामा सन् २०२३ मा मुटु तथा रक्तनलीसम्बन्धी रोग पहिलो स्थानमा पुगेका छन् । विभागका महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले प्रतिवेदनले पहिचान गरेका प्रमुख रोग तथा स्वास्थ्य समस्यामा मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वासको सङ्क्रमण तथा क्षयरोग, पाचन प्रणालीका रोग, मधुमेह तथा मिर्गौला रोग, मातृ तथा नवजात स्वास्थ्य समस्या, चोटपटक तथा दुर्घटना, आत्महत्यासम्बन्धी समस्या र स्नायुसम्बन्धी रोग प्रमुख स्थानमा रहेको जानकारी दिनुभयो ।

नसर्ने रोगको बढ्दो भारमा धूमपान, मद्यपान, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, उच्च रक्तचाप, मोटोपन र वायु प्रदूषण प्रमुख जोखिमका रूपमा देखिएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा गरिएको नसर्ने रोगसम्बन्धी जोखिम कारक सर्वेक्षण अनुसार २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप, २४.३ प्रतिशतमा अधिक तौल वा मोटोपन र ५.८ प्रतिशतमा उच्च रक्तचिनीको अवस्था देखिएको थियो । त्यस्तै ९७ प्रतिशतले दैनिक आवश्यकता अनुसार फलफूल तथा तरकारी सेवन नगर्ने र १७ प्रतिशतले धूमपान गर्ने गरेको अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार धूमपानका कारण मात्रै कुल मृत्युको १७.७ प्रतिशत हुने गरेको छ । उच्च रक्तचाप, घरभित्रको वायु प्रदूषण र बाहिरी वायु प्रदूषण पनि मृत्युका प्रमुख जोखिम कारकका रूपमा देखिएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले स्वास्थ्य अनुसन्धानबाट प्राप्त प्रमाणलाई नीतिनिर्माण र जनस्वास्थ्य सुधारमा उपयोग गर्नुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय सहकार्यबाट स्वास्थ्य अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभागको प्रतिवेदनले नसर्ने रोग नियन्त्रणका लागि सञ्चालन भइरहेका प्रयासलाई पनि उल्लेख गरेको छ ।

उच्च रक्तचाप र मधुमेहको प्रारम्भिक पहिचान, उपचार तथा नियमित अनुगमनका लागि सरकारले प्राथमिक स्वास्थ्य सेवामार्फत कार्यक्रम विस्तार गरेको छ । डा. जोशीले नसर्ने रोगको बढ्दो भारले स्वास्थ्य क्षेत्रको प्राथमिकता उपचारबाट रोकथाम र प्रारम्भिक पहिचानतर्फ पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले रोग लागेपछि महँगो उपचारमा निर्भर हुनुभन्दा स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थको नियन्त्रण, प्रदूषण न्यूनीकरण र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा रोग रोकथाममा बहुपक्षीय समन्वय हुनुपर्नेमा जोड दिनुभयो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया