कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताउनुभएको छ ।

साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आज आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीचको सबैभन्दा बलियो र दीर्घकालीन सम्बन्ध बन्न सक्ने बताउनुभयो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका सन्दर्भमा उहाँले दुई देशबीचको मित्रता औपचारिक कूटनीतिक सम्बन्धभन्दा पुरानो रहेको उल्लेख गर्नुभयो ।

सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थको खोजीमा नेपाल आउनुभएको र सन् १९०० को सुरुआतमा आठ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान गएको उहाँले स्मरण गर्नुभयो । यी प्रारम्भिक सम्पर्कले दुई देशका जनताबीच सम्बन्धको जग बसालेको र त्यसले सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लिएको उहाँको भनाइ थियो ।

नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले पछिल्लो सात दशकदेखि जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहँदै आएको बताउनुभयो ।

उहाँले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संसाधन विकासका क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो।

हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययनरत अन्तरराष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै उहाँले यसले दुई देशबीचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप जीवन्त बनाएको बताउनुभयो ।

नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताका लागि उहाँले धन्यवाद दिनुभयो । विपद्का बेला जापानले उपलब्ध गराएको तत्कालीन राहत सामग्री तथा फरेन्सिक विशेषज्ञता र डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको गहिरो मित्रता र ऐक्यबद्धता झल्काएको उहाँले बताउनुभयो ।

त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा जापानका सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल–जापान सम्बन्धमा योगदान पुर्‍याउनुभएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकामा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।

शिक्षालाई नेपाल–जापान सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै परराष्ट्रमन्त्री खनालले जापानमा अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा पेसाकर्मीले स्वदेश फर्किएर नेपालको संस्थागत विकास, उद्योग र समुदायमा योगदान पुर्‍याइरहेको बताउनुभयो ।

जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले नेपाली सरकारी अधिकारीलाई जापानमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै उहाँले यसबाट सार्वजनिक नीति, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता अभिवृद्धि भइरहेको बताउनुभयो ।

दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि उत्पादनमूलक अवसर सिर्जना गर्नुपर्ने जस्ता साझा चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले यी क्षेत्रमा जापानसँग सहकार्यका प्रशस्त सम्भावना रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
२०८३ कार्तिक १९, बिहिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल
२०८३ कार्तिक १९, बिहिबार
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
२०८३ कार्तिक १९, बिहिबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
२०८३ कार्तिक १९, बिहिबार
जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
२०८३ कार्तिक १९, बिहिबार
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
२०८३ कार्तिक १९, बिहिबार