कार्तिक १८, २०८३ बुधबार November 4, 2026

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगै अघि बढाउनुपर्छ : मन्त्री चौधरी

संरक्षण कार्यलाई प्रभावकारी बनाउन व्यावसायिक दक्षता, इमानदारी र संस्थागत प्रतिबद्धता आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले संरक्षण र विकासलाई परिपूरक बनाउँदै स्थानीय समुदायलाई संरक्षणको नेतृत्वकर्ता बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालका १३ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा शिकार आरक्ष, छ संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रले मुलुकको कूल भूभागको करिब २३।३९ प्रतिशत क्षेत्र समेटेको जानकारी दिनुभयो ।

संरक्षित क्षेत्र व्यवस्थापनमा करिब एक हजार ४०० निजामती कर्मचारी, आठ हजारभन्दा बढी नेपाली सेना तथा स्थानीय समुदाय र संरक्षण साझेदारको योगदान रहेको उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षण कार्यलाई प्रभावकारी बनाउन व्यावसायिक दक्षता, इमानदारी र संस्थागत प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

बाघ, गैँडा, हिउँ चितुवा, सारस, घडियाल र बाह्रसिङ्गेको संरक्षणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षणका उपलब्धिलाई दिगो बनाउन सहभागितामूलक संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षणको उच्चतम मापदण्ड कायम राख्दै जैविक विविधता, पारिस्थितिक अखण्डता र प्राकृतिक सम्पदाको संरक्षणमा कुनै सम्झौता गर्न नहुने उहाँको भनाइ थियो ।

पर्यापर्यटन प्रवर्द्धन, होमस्टे विकास तथा जडीबुटी र गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलन तथा मूल्य अभिवृद्धिमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउन सकिने मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

संरक्षण कार्यलाई प्रभावकारी बनाउन अनुसन्धान, प्रविधि र प्रमाणमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षणमा खटिने रेन्जर, गेम स्काउट तथा फिल्ड कर्मचारीको सुरक्षा, क्षमता विकास र मनोबल अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण अफ्रिकाका प्रसिद्ध क्रिकेटर डेभिड मिलर काठमाडौंमा
२०८३ कार्तिक १८, बुधबार
भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ कार्तिक १८, बुधबार
संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगै अघि बढाउनुपर्छ : मन्त्री चौधरी
२०८३ कार्तिक १८, बुधबार
नेपाल प्रहरीको ३४औँ आईजीपीमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए
२०८३ कार्तिक १८, बुधबार
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार