जनकपुरधाम, कात्तिक २० गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका सन्दर्भमा मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म सञ्चालन हुने भनिएको रेलका लागि बिहीबार परीक्षण गरिएको छ ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म डब्लुडिपी ४ डी ४०४०३ नम्बरको इन्जिनसहित १७ वटा बोगी भएको भारतीय रेलबाट ट्र्याकसहित प्राविधिक पक्षको परीक्षण गरिएको हो । हाजीपुरका एरिस्टल जेनरल म्यानेजर अमरेन्द्र कुमारको नेतृत्वमा आएको ६७ जना भारतीय प्राविधिकसहितको टोलीले रेलको परीक्षण गरी रेलवे ट्र्याकसहित बाटोको अवस्था, निर्धारण गर्नुपर्ने रेलको गतिबारे जानकारी लिएको प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो ।
जनकपुरधाम–अयोध्या रेल सञ्चालन गर्ने तयारी अन्तर्गत परीक्षण गरिएको रेलको गतिको अनुपात ३० किलोमिटर प्रतिघण्टाका दरमा गुडाइएको जानकारी दिँदै प्रबन्ध सञ्चालक पराजुलीले ठाउँ अनुसार रेलको गति बढाउन सकिने बताउनुभयो । उहाँले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलसेवाको उद्घाटन गर्ने गरी तयारी तीव्र पारिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेलसेवा उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ । रेल कहिलेदेखि सञ्चालन हुने हो, अहिले तिथिमिति किटान भएको छैन । तीव्र तयारीकै स्वरूप आज भारतीय रेलवे कम्पनीका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले रेलसेवाको परीक्षण गरेको छ ।”
प्रबन्ध सञ्चालक पराजुलीले जनकपुरधाम–अयोध्या सञ्चालन हुने रेल अन्तर्गत पहिलो चरणमा साताको एकदिन बिहान जनकपुरधाम पुग्ने गरी भारतको अयोध्याबाट बेलुकाको समयमा चल्ने र सोही रेल अर्को दिन बिहान अयोध्या पुग्ने गरी जनकपुरधामबाट बेलुकाको समयमा चल्ने किसिमले तयारी भइरहेको बताउनुभयो । उहाँले कुन दिन र कुन समय भने अहिले तय नभएको बताउनुभयो । उहाँले रेलमा सामान्य बोगीका साथै वातानुकूलित बोगी र स्लिपरको व्यवस्था रहने जानकारी दिँदै रेलको भाडा कति राख्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
उहाँले रेल सञ्चालन भएपछि रेल सञ्चालनको अवस्था, यात्रीको चापलगायतका विषयवस्तु हेरेर पछि रेलको नियमित सञ्चालनसमेत गर्न सकिने गरी दुवै पक्षबिच छलफल भइरहेको जानकारी दिनुभयो ।
जनकपुरधाम–अयोध्या रेलसेवा सञ्चालनमा आएपछि दुई देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रामायण सर्किट अन्तर्गत माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलसेवामार्फत जोडिएपछि तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाम–अयोध्या रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधाममा पर्यटन प्रवर्धनका साथै रोजगारीको सिर्जना हुने र यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने धारणा राख्नुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामदेखि अयोध्यासम्म रेलसेवा सञ्चालनले पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधामको होटेल, यातायात र व्यापारको कारोबारमा बढोत्तरी हुने धारणा राख्नुभयो ।
नेपालको जनकपुर–जयनगर रेलसेवाको थालनी १९९४ सालमा तत्कालीन प्रम जुद्धशमशेरको पालामा भएको थियो । सुरुमा ब्रिटिस भारत सरकारले नेपालबाट काठ र जडीबुटी ओसार्न यो रेलमार्ग सञ्चालनमा ल्याएको इतिहास छ । केही वर्षअघि अवरुद्ध भएको यो रेलसेवा पुनः सञ्चालन भई भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित सञ्चालनमा रहेको छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया