कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती

अति–रूढिवादी यहुदी समुदायलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने व्यवस्था पनि विपक्षीको निशानामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, २४ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद्् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्मा उहाँको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी र संसद्ीय नेतृत्व परिवर्तनका विषयमा चुनौती थपिन सक्छ ।

नयाँ १२० सदस्यीय संसद्ले मङ्गलबारदेखि काम सुरु गर्दैछ । राष्ट्रपति आइज्याक हर्जोगले पूर्वसैनिक प्रमुख गदी आइसेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिनुभएको छ । तर उहाँ वा नेतान्याहु कसैसँग पनि बहुमत नभएकाले सरकार गठन सहज देखिएको छैन । नयाँ सरकार नबनेसम्म नेतान्याहु कार्यवाहक प्रधानमन्त्री रहनुहुनेछ ।

नेतान्याहुको दलको सिट सङ्ख्या अघिल्लो संसद्को ६८ बाट घटेर ५३ मा झरेको छ । विपक्षीको मुख्य समूहसँग ४८ र सरकारको विरोध गर्ने अरब दलका १९ सांसद छन् । विपक्षीको प्रमुख माग सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको घातक आक्रमणबारे स्वतन्त्र राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नु हो । नेतान्याहुले आफ्नो गल्ती अस्वीकार गर्दै आउनुभएको छ भने उहाँको सरकारले स्वतन्त्र आयोगको सट्टा राजनीतिक नियुक्तिबाट छानबिन गराउने पक्ष लिएको छ ।

नयाँ संसद्ले सर्वोच्च अदालतको अधिकार सीमित गर्ने र महान्यायाधिवक्तालाई हटाउन सहज बनाउने विवादास्पद न्यायिक सुधारसम्बन्धी कानून खारेज गर्ने प्रयास पनि गर्न सक्छ । ती कानूनले लोकतन्त्र कमजोर बनाउने भन्दै इजरायलमा व्यापक विरोध भएको थियो । अति–रूढिवादी यहुदी समुदायलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने व्यवस्था पनि विपक्षीको निशानामा पर्न सक्छ ।

संसद्को पहिलो प्रतिस्पर्धा सभामुख चयनमा हुने देखिएको छ । नेतान्याहुको लिकुड पार्टीका अमिर ओहाना हाल सभामुख हुनुहुन्छ । आइसेनकोट नेतृत्वको विपक्षी समूहका तीन दलले उद्घाटन सत्रमै नयाँ सभामुख चयन गर्न माग गरेका छन् । विपक्षी नेता नाफ्ताली बेनेटले संसद्को नियन्त्रण सकेसम्म चाँडो आफ्नो पक्षमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । विश्लेषक असफ शापिराका अनुसार नयाँ कानून पारित गर्न समय लागे पनि अघिल्लो सरकारका केही निर्णय खारेज गर्ने प्रक्रिया छिटो अघि बढ्न सक्छ । रासस -एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया