लन्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मङ्गलवार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टरनजिकैबाट पक्राउ गरिएको हो ।
राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको आशङ्कामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती अधिकारीहरूलाई सहयोग गरेका थिए ।
लन्डन मेट्रोपोलिटन प्रहरीको आतङ्कवाद नियन्त्रण विभागकी वरिष्ठ राष्ट्रिय संयोजक भिकी इभान्सले बेलायत र अमेरिकाबीचको निकट सहकार्यका कारण यो गिरफ्तारी सम्भव भएको बताएकी छन् । उहाँले सैनिकमाथि लागेका आरोप गम्भीर रहेको उल्लेख गर्दै अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।
अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले बेलायती प्रहरी तथा गुप्तचर निकायलाई धन्यवाद दिनुभएको छ । जासुसीसम्बन्धी आरोप अमेरिका र उसका सहयोगी राष्ट्रका लागि अत्यन्त संवेदनशील विषय भएको उहाँले बताउनुभयो ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यस घटनाबारे थप जानकारीका लागि अमेरिकी सेनालाई सम्पर्क गर्न भनेको थियो । तर अमेरिकी सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
प्रहरीको विज्ञप्तिमा अमेरिकी सेना काउन्टर इन्टेलिजेन्स कमान्डका कमान्डिङ जनरल सिन स्टिन्चनले संवेदनशील सूचनामा पहुँच भएका वरिष्ठ सैनिकमाथि लागेको आरोपले आन्तरिक सुरक्षा चुनौती वास्तविक र निरन्तर रहेको देखाएको बताउनुभएको छ ।
रुस र बेलायतबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले युक्रेनलाई समर्थन गर्दै आएको छ । यसले मस्को र लन्डनबीचको सम्बन्ध थप चिसिएको छ ।
यसअघि सन् २००६ मा पूर्वरुसी जासुस अलेक्जेन्डर लिट्भिनेन्कोको लन्डनमा विष सेवनबाट मृत्यु भएको थियो । त्यस्तै, सन् २०१८ मा सालिसबरीमा पूर्वरुसी दोहोरो एजेन्ट सर्गेई स्क्रिपाल र उहाँकी छोरीमाथि विष प्रयोग गरी हत्या प्रयास भएको थियो । यी घटनाले बेलायतमा रुसी जासुसी गतिविधिबारे सुरक्षा चिन्ता बढाएका थिए ।
गत सेप्टेम्बरमा एक बेलायती नागरिकमाथि रुसी सैन्य गुप्तचर निकायका लागि ड्रोन कारखाना तथा उत्पादन केन्द्रमा तोडफोड गर्ने योजना बनाएको आरोप लागेको थियो । उक्त मुद्दा लन्डनको अदालतमा पुगेको थियो ।
प्रहरीले अमेरिकी सैनिक पक्राउ प्रकरण अन्य कुनै पनि जारी आतङ्कवाद नियन्त्रण अनुसन्धानसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ । यद्यपि, पक्राउ परेका सैनिकमाथि लागेको जासुसीको आरोप पुष्टि भइसकेको छैन । घटनाबारे बेलायती तथा अमेरिकी अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया