कार्तिक २५, २०८३ बुधबार November 11, 2026

इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय

इरानले मध्यपूर्वसहित अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिक तथा अधिकारीहरूलाई लक्षित गर्ने प्रयास उल्लेख्य रूपमा बढाएको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अमेरिका । इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सर्नुभएको छ । द न्युयोर्क टाइम्सले मङ्गलवार घटनाबारे जानकार तीन स्रोतलाई उद्धृत गर्दै यससम्बन्धी समाचार सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहनुभएका बेसेन्टले पछिल्लो समय इरानको अर्थतन्त्रलाई कमजोर बनाउने अमेरिकी आर्थिक अभियानको नेतृत्व गर्दै आउनुभएको छ । इरानमाथि विभिन्न आर्थिक तथा वित्तीय प्रतिबन्ध लगाएर उसको आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने अमेरिकी रणनीतिमा उहाँको प्रमुख भूमिका रहेको छ ।

अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउने उद्देश्यले प्रतिबन्धको विस्तृत सञ्जाल विस्तार गरेको छ । यस अभियानमार्फत इरानको वित्तीय स्रोत सीमित पार्ने र उसको आर्थिक क्षमतालाई कमजोर बनाउने प्रयास भइरहेको छ । यही भूमिकाका कारण बेसेन्ट इरानको सम्भावित निशानामा पर्नुभएको हुन सक्ने अमेरिकी अधिकारीहरूको आकलन रहेको समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख जे क्लेटनले गत महिना इरानले मध्यपूर्वसहित अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिक तथा अधिकारीहरूलाई लक्षित गर्ने प्रयास उल्लेख्य रूपमा बढाएको चेतावनी दिनुभएको थियो ।

द न्युयोर्क टाइम्सका अनुसार इरानबाट वर्तमान तथा पूर्वअमेरिकी अधिकारीहरूलाई लक्षित गर्ने योजनाहरू थप उन्नत चरणमा पुगेका छन् । यसमा अर्थमन्त्री बेसेन्टलाई लक्षित गरिएको सम्भावित गतिविधि पनि समावेश रहेको बताइएको छ । यद्यपि उहाँमाथि रहेको सुरक्षा जोखिमको वास्तविक गम्भीरताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यस घटनापछि अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले बेसेन्ट इरानी सरकारको धम्कीबाट विचलित नहुने र इरानको अर्थतन्त्रमाथि दबाब कायम राख्ने अभियानमा प्रतिबद्ध रहनुभएको बताउनुभएको छ । उहाँले निर्धारित जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

यसैबीच, इरानसँग सम्बन्धित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना कूटनीतिक तथा सैन्य संरचनाको सुरक्षा व्यवस्था पनि कडा बनाउँदै आएको छ । गत महिना साउदी अरेबियास्थित अमेरिकी दूतावासका अत्यावश्यकबाहेकका कर्मचारी तथा उनीहरूका परिवारलाई सुरक्षा कारण देश छाड्न निर्देशन दिइएको थियो ।

त्यस्तै, इरानबाट सम्भावित खतराको सूचना प्राप्त भएपछि अमेरिकी सेनाले बेलायतस्थित आफ्ना दुई सैन्य बेसबाट केही विमान अन्यत्र सारेको समाचार पनि सार्वजनिक भएको छ ।

अर्कोतर्फ, मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास भइरहेका छन् । अमेरिकी प्रशासनले इरानमाथि आर्थिक दबाब बढाएर सैन्य तनाव कम गर्ने रणनीतिलाई प्राथमिकता दिइरहेको जनाएको छ ।

यद्यपि, इरानले अमेरिकी अधिकारीहरूलाई लक्षित गरी आक्रमणको योजना बनाएको आरोपबारे स्वतन्त्र रूपमा पुष्टि भएका सबै विवरण सार्वजनिक भएका छैनन् । यस घटनाले अमेरिका र इरानबीचको तनावका बीच उच्चपदस्थ अमेरिकी अधिकारीहरूको सुरक्षालाई लिएर थप चिन्ता उत्पन्न गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया