कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

अब मेटाले यस विशेष सुविधाका लागि छुट्टै र स्पष्ट अनुरोधमार्फत प्रयोगकर्ताको सहमति लिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रोम, ३० कात्तिक। इटालियन नियामकहरूले फेसबुकको माउ कम्पनी मेटालाई “विशिष्ट” सहमतिबिना प्रयोगकर्ताका तस्बिरहरू पहुँच गरेको भन्दै ८० करोड ५० लाख युरो (करिब ८८ करोड अमेरिकी डलर) जरिवाना गरेको छ।

देशको डेटा सुरक्षा प्राधिकरणले सो जानकारी दिएको हो।

एन्ड्रोइड उपकरणहरूका लागि उपलब्ध फेसबुक एपमार्फत मेटाले “विशिष्ट सहमति प्राप्त नगरी र प्रयोगकर्ताहरूलाई उचित रूपमा जानकारी नदिई” इटालियन प्रयोगकर्ताहरूसँग सम्बन्धित तस्बिरहरू, भिडियोहरू र सम्बन्धित मेटा डेटा पहुँच गरेको प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ।

मेटाले यो निर्णयविरुद्ध पुनरावेदन (अपील) गर्ने बताएको छ। कम्पनीका प्रवक्ताले नियामकहरूको मूल्याङ्कन र “जरिवानाको असमान स्तर” सँग आफूहरू “दृढतापूर्वक असहमत” रहेको बताएका छन्।

अक्टोबरको अन्त्यमा न्यु मेक्सिकोका अधिकारीहरूले मेटालाई एक दशकभन्दा बढी समयदेखि राज्यका बासिन्दाहरूलाई उनीहरूको डेटा प्रयोगमा भ्रमित गरेको आरोपमा २५ अर्ब डलर तिर्न आदेश दिएका थिए। कम्पनीका लागि यो रेकर्ड जरिवाना हो, जसलाई मेटाले अभिव्यक्ति स्वतन्त्रतामाथिको “कर” को रूपमा आलोचना गरेको छ।

हालै गरिएको यो जरिवाना इटालियन प्राधिकरणले कुनै पनि टेक जायन्टमाथि लगाएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। यसअघि २०२१ मा अमेजनले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेकोमा १.१ अर्ब युरोभन्दा बढी जरिवाना तिरेको थियो, पछि पुनरावेदनमा उक्त रकम घटाएर ७५२ मिलियन युरो कायम गरिएको थियो।

फेसबुक ग्यालरी सुविधा

फेसबुकमा लगाइएको यो इटालियन जरिवाना सन् २०२३ देखि उपलब्ध यसको ‘ग्यालरी सुझाव’ सुविधासँग सम्बन्धित छ। यस सुविधाले प्रयोगकर्तालाई फोनको ग्यालरीबाट फोटो र भिडियोहरू ब्राउज गर्दा पोष्टका लागि विभिन्न विचार वा सुझावहरू दिने गर्दछ।

इटालीको नियामक निकायका अनुसार, फेसबुकले सम्पूर्ण एपका लागि मान्य हुने एउटै अनुमतिमार्फत प्रयोगकर्ताको ग्यालरीमा पहुँच मागेको थियो। यसअघि अन्य सुविधाहरू सक्रिय गर्न आग्रह गर्ने एउटा सामान्य सूचना मात्र दिइएको थियो, जसले गर्दा प्रयोगकर्ताहरूले आफूले ग्यालरीबाट सुझावहरू प्राप्त गर्नका लागि पनि अनुमति दिँदैछौं भन्ने कुरा स्पष्ट रूपमा बुझ्न सकेका थिएनन्।

नियामक निकायले अब मेटाले यस विशेष सुविधाका लागि छुट्टै र स्पष्ट अनुरोधमार्फत प्रयोगकर्ताको सहमति लिनुपर्ने बताएको छ। साथै, यो सुविधा केका लागि प्रयोग गरिन्छ अर्थात् यसमा प्रयोगकर्ताको फोटो ग्यालरीमा पहुँच समावेश हुन्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ र यसलाई कसरी बन्द गर्न सकिन्छ भन्ने जानकारी पनि दिनुपर्नेछ।

जरिवानाको रकम निर्धारण गर्दा नियामक निकायले “प्रभावित मानिसहरूको ठूलो सङ्ख्या”,  इटालीमा करिब २ करोड (२० मिलियन) एन्ड्रोइड प्रयोगकर्ताहरू र नियम उल्लङ्घनको अवधिलाई ध्यानमा राखेको जनाएको छ। यो उल्लङ्घन “एप अपडेट नगरेका प्रयोगकर्ताहरू र जसले पहिले नै यस प्रणालीका लागि सहमति दिइसकेका छन्, उनीहरूका हकमा अझै पनि जारी छ।”

नियामक निकायले “अनुसन्धानका क्रममा मेटाले सहयोग नगरेको” कुरालाई पनि विशेष रूपमा उल्लेख गरेको छ।

कम्पनीमाथि उसको वार्षिक कारोबारको करिब ०.४ प्रतिशत बराबरको जरिवाना तोकिएको छ। सन् २०२५ मा कम्पनीको वार्षिक कारोबार २०१ अर्ब डलर पुगेको थियो भने खुद नाफा ६०.५ अर्ब डलर रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार