मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चैत पहिलो साता स्थानीय चुनाव गराउने आयोगको तयारी

स्थानीय र प्रदेश चुनाव एकैपटक गराउने विकल्पमा अध्ययन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । स्थानीय तह निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले गृहकार्य अघि बढाएको छ । बहालवाला जनप्रतिनिधिको कार्यकाल सकिनु दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले आगामी चैत्रको पहिलो सातामा चुनाव गराउने गरी तयारी अघि बढाएको हो ।

संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने तथा कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ ले गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यस पृष्ठभूमिमा निर्वाचनको उपयुक्त मिति तय गर्न सरकारलाई सुझाव दिइसकेको आयोगले जनाएको छ ।

आयोगले अब राजनीतिक दलहरूसँग परामर्श गरेर निर्वाचनको वातावरण र तयारीको कार्य अघि बढाउने योजनामा रहेको छ । यसका लागि आयोगले मंसिर ४ गते राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्ने भएको छ । दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र मितिबारे छलफल गरेर निष्कर्षमा पुग्ने आयोगको तयारी रहेकोे आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि बोलाएको आयुक्त वाग्लेले जानकारी दिनुभयो । प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् । ‘संविधान र कानुनअनुसार नै निर्वाचन मिति घोषणा हुन्छ । निर्वाचनको वातावरण तथा पूर्व तयारीका लागि मंसिर ४ गते शुक्रवार राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छौँ । चैत महिनासम्म चुनाव गराउने गरी छलफल भइरहेको छ । राजनीतिक दलहरूसँग छलफलपछि एउटा निष्कर्षमा पुग्छौँ’ –उहाँले भन्नुभयो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचनका लागि सामान्यतया १ सय २० दिन अर्थात् चार महिनाको तयारी अवधि आवश्यक पर्छ । उहाँले भन्नुभयो– ‘आयोगले चैतको ५ गतेको आसपासमा निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ ।’ आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ । यही कानुनी प्रावधानअनुसार निर्वाचनको समयसीमा निर्धारण गर्न आयोगले सरकारसँग समन्वय अघि बढाएको हो ।

यसैबीच, सरकारले पनि निर्वाचनको मिति घोषणा गर्ने विषयमा राजनीतिक तहमा परामर्श अघि बढाउने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेर सरकारले निर्वाचनको मिति टुंग्याउने बुझिएको छ । चैतभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएमा मंसिरमै मिति घोषणा गरेर आयोगलाई आवश्यक तयारीका लागि पर्याप्त समय दिनुपर्ने आयुक्तहरूको भनाइ रहेको छ ।

स्थानीय तह निर्वाचनसँगै २०८४ वर्ष मंसिर ४ गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले सोही वर्ष निर्वाचन गराउनुपर्ने छ । यसले गर्दा यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बचत हुने चर्चा आयोगतिर चलेको छ । तर यसका लागि निर्वाचन व्यवस्थापन विधेयक पारित गरी ऐनका रूपमा ल्याउनुपर्ने छ ।

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एउटै मितिमा तय गरेर निर्वाचन गर्ने गरी व्यवस्था भएको ऐन आएमा निर्वाचन गराउन सकिने आयोगका पदाधिकारीहरूको भनाइ छ । यस विषयमा आयोगले अध्ययन गरिरहेको छ ।

यसपटक आयोगले निर्वाचन प्रणालीलाई थप सहज र प्रविधिमैत्री बनाउने विषयलाई पनि प्राथमिकतामा राखेको छ । स्थानीय तहसँगै प्रदेशसभा निर्वाचनमा समेत अन्तरजिल्ला मतदानको व्यवस्था परीक्षण गर्नेबारे अध्ययन भइरहेको छ । केही जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा यस्तो व्यवस्था सुरु गर्न सकिने सम्भावनाबारे आयोगले गृहकार्य गरिरहेको छ । अन्तरजिल्ला मतदानमा प्रविधिको प्रयोग गर्दै भविष्यमा विद्युतीय मतदान प्रणालीतर्फ जाने आयोगको योजना छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउने विषयमा समेत दूतावास तथा कूटनीतिक नियोगमार्फत अनलाइन वा ई–भोटिङको सम्भाव्यता अध्ययन भइरहेको आयोगका पदाधिकारीले बताएका छन् ।

आयोगले अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको छ । निर्वाचनको मिति, सुरक्षा व्यवस्था, कर्मचारी परिचालन र अन्य प्राविधिक तयारीका विषयमा सरकारसँग समन्वय भएपछि औपचारिक तयारीलाई तीव्रता दिने आयोगको योजना छ । नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार