कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गरिबी न्यूनीकरणको लक्ष्यमा विपत्को धक्का

विनाशकारी भूकम्प र दक्षिणी सीमामा भएको अवरोधले १३औँ आवधिक योजनाले लिएको गरिबी घटाउने लक्ष्य हासिल गर्न अवरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं । नेपालीलाई विपत्ले निरन्तर गरिबीतर्फ धकेल्दै लगेको सरकारको तथ्यांकले देखाएको छ । पछिल्लो डेढ दशकयता आएका ठुला विपत्ले गरिबी बढाउँदै लगेको र यस्ता विपत्ले गरिबी निवारणको राष्ट्रिय लक्ष्यमा अवरोध भइरहेको राष्ट्रिय योजना आयोगको एक प्रतिवेदनमा उल्लेख छ ।

बाढीपहिरो, भूकम्प, राजनीतिक घट्ना, विश्वव्यापी स्वास्थ्य संकटलगायत विपत्ले एकै वर्षमा ४ प्रतिशत विन्दुसम्मले गरिबी बढाएको आयोगको तथ्यांक छ । ‘यस्ता विपत् तथा घटनाले गरिबी निवारणमा निरन्तर अवरोध सिर्जना गरेको छ,’ प्रतिवेदनमा उल्लेख छ । विपत्ले नेपाललाई थप गरिबीतर्फ धकेलिरहेको आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘भूकम्प, बाढीपहिरो, आगलागीजस्ता विपत्ले गरिबी निवारणमा चुनौती थपिरहेको छ,’ उनले भने, ‘गरिबलाई धनी हुनबाट रोकेको छ, धनीलाई गरिबीमा झारिदिएको छ ।’

गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीले स्थानीयस्तरमा उल्लेखनीय संख्यामा गरिबी बढाएको योजना आयोगको प्रतिवेदनले औँल्याएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘भोटेकोशी बाढीपछिको क्षति र विपत्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण’मा प्रभावित स्थानीय तहहरूमा उपभोगमा आधारित गरिबीको दर २.७ प्रतिशत विन्दुले वृद्धि भई १२.२ प्रतिशतबाट १४.९ प्रतिशत पुगेको अनुमान गरिएको छ । आयोगले प्रभावित क्षेत्रलक्षित विशेष कार्यक्रमको आवश्यकतासमेत औँल्याएको छ ।

यसअघि कोभिड–१९, भूकम्पजस्ता ठुला विपत्ले समेत गरिबी बढाएका थिए । कोभिड–१९ का कारण १५ लाख मानिस बेरोजगार भएको तथा थप १२ लाख जनसंख्या गरिबीको रेखामुनि पर्न आएको आयोगको तथ्यांक थियो । योजना आयोगका अनुसार कोभिडका कारण करिब ४ प्रतिशत विन्दुले गरिबी बढेको र थप १२ लाख जनसंख्या गरिबीको रेखामुनि पर्न गएको अनुमान गरेको थियो । उक्त वेला अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा समेत संकुचन आएको थियो ।

१२ वैशाख ०७२ मा आएको ७.६ म्याग्निच्युटको भूकम्पबाट नेपालको करिब एकतिहाइ जनसंख्या अर्थात् ८० लाख मानिस प्रत्यक्ष प्रभावित हुन पुगेको आयोगको प्रवितदनमा उल्लेख छ । भूकम्पबाट थप सात लाख जनसंख्या गरिबीको रेखामुनि परेको अनुमान गरिएको थियो । कुल जनसंख्याको २.५ देखि ३.५ प्रतिशत मानिस गरिबीको रेखामुनि धकेलिएको अनुमान थियो । ०७४ साउनको बाढीले तराई क्षेत्रका १६ लाख ८८ हजार चार सय ४७ जनसंख्या बाढीबाट प्रत्यक्ष प्रभावित भएका थिए । यसले गरिबी र रोजगारीमा प्रभाव पारेको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

नेपाल विश्वमा भूकम्पीय जोखिमको दृष्टिले एघारौँ तथा बाढीपहिरोको दृष्टिकोणबाट तीसौँ अति जोखिमयुक्त मुलुकका रूपमा सूचीकृत छ । नेपालमा हरेक वर्ष औसत पाँच सयभन्दा बढी विपत्का घटना हुने गरेको सरकारी आँकडा छ । प्राकृतिक तथा गैरप्राकृतिक विपत्का घटनाका कारण नेपालको भौतिक, आर्थिक, सामाजिक विकास र प्रगतिमा समेत प्रतिकूल प्रभाव परिरहेको आयोगले उल्लेख गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले विपत्ले आर्थिक वृद्धि तथा गरिबी न्यूनीकरणमा प्रभाव पारिरहेको बताए । हालैको भोटेकोशी बाढीले पनि राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा प्रभावित बनाउने र स्थानीयस्तरमा गरिबी बढाउने देखिएको उनले बताए ।

विपत्ले गरिबी दर बढाएको योजना आयोगको तथ्यांक

योजनाअनुसार काम भएको भए र विपत्ले अवरोध नगरेको भए हाल नेपालमा निरपेक्ष गरिबीको दर एकल अंकमा झर्ने थियो । पन्ध्रौँ आवधिक योजनाले ०८०/८१ सम्ममा गरिबीको दर १८.७ प्र्रतिशतबाट ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । तर, उक्त लक्ष्य पूरा हुन सकेको छैन । आवधिक योजनाको समाप्तिमा गरिबी झन् बढेर २०.३ प्रतिशत पुगेको थियो । यसको मुख्य कारण कोभिड–१९ भएको योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । विपत् न्यूनीकरणको पर्याप्त तयारी नहुँदा यसबाट हुने मानवीय, भौतिक तथा आर्थिक क्षति बढ्न सक्ने, गरिबी तथा संकट गहिरिन सक्ने पन्ध्रौँ योजनाको कार्यान्वयन प्रतिवेदनमा उल्लेख छ ।

सोह्रौँ आवधि योजनाले आर्थिक वर्ष ०८५/८६ सम्ममा निरपेक्ष गरिबी २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । तर, लगातारको विपत्जन्य घटनाले उक्त लक्ष्यसमेत हासिल गर्न चुनौतीपूर्ण हुने देखिएको हो । गरिबी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिमा विपत्ले निरन्तर अवरोध गरिरहेको आयोगका अधिकारीहरू बताउँछन् ।

विनाशकारी भूकम्प र दक्षिणी सीमामा भएको अवरोधले १३औँ आवधिक योजनाले लिएको गरिबी घटाउने लक्ष्य हासिल गर्न अवरोध सिर्जना गरेको चौधौँ आवधिक योजनामा उल्लेख छ । ‘विनाशकारी भूकम्प र दक्षिणी सीमामा अवरोध हुँदा संवत् ०७९ सम्म नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने योजनाको उद्देश्य हासिल गर्ने मार्गमा अवरोध सिर्जना गर्यो, गरिबीको रेखामुनि रहेका २३.८ प्रतिशत जनसंख्यालाई १८ प्रतिशतमा झार्ने लक्ष्यसमेत हासिल हुन सकेन,’ चौधौँ योजनामा उल्लेख छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार