कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सांस्कृतिक एकताको प्रतीक बन्दै छठ

सूर्य पुराणमा उल्लेख भएबमोजिम छठ पर्व कात्र्तिक शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २९ गते । तराई मधेशको नदी र तलाउबाट सुरु भएको छठपर्व अहिले पहाडका नदी र हिमालका तालसम्म फैलिँदै छ । छठले राज्यस्तरमा समेत सम्मान र मान्यता पाउन थालेपछि यसको सामाजिक तथा सांस्कृतिक विस्तार थप व्यापक बनेको छ । यो चाड नेपालको सांस्कृतिक तथा भौगोलिक विविधतालाई एकतामा बाँध्ने चाडका रूपमा विकसित हुँदै छ ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. पासाङ शेर्पा छठलाई धार्मिक परम्पराका रूपमा मात्रै नहेरी पहिचान स्थापित गर्ने तथा ज्ञानलाई पुस्तान्तरण गर्ने सामाजिक र सांस्कृतिक संस्थाका रूपमा लिनुपर्ने बताउनुहुन्छ ।

छठपर्वमा न लिङ्गभेद देखिन्छ, न धर्मभेद, न भाषाभेद, न जातीय विभेद । त्यसैले केही दशकअघिसम्म मिथिला क्षेत्रका हिन्दु समुदायले मात्र मनाउने छठ हाल मुस्लिम समुदायका सदस्यले समेत मनाउन थालेका छन् । महोत्तरीको औरही–३ की सोमनी खातुनले गत वर्ष निधन हुनुअघिसम्म लगातार तीन दशक छठमा अर्घ दिनुभयो । उहाँका कान्छा छोरा हदिश खुद्दारले भन्नुभयो, “जेठो छोरा बितेपछि आमाले सन्तान प्राप्तिका लागि अर्घ दिने भाकल गर्नुभयो । भाकल पूरा भएपछि पनि उहाँले गत वर्ष निधन हुनुअघिको छठसम्म अर्घ दिनुभयो ।”

छठ अहिले मिथिलासहित तराई मधेशका विभिन्न धर्म वा सम्प्रदायसम्म सीमित नरहेर पहाड र हिमालसम्म पुगेको छ । छठ विस्तार हुनुका केही पक्षहरूबारे उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत राराब क्याम्पस जनकपुरधामबाट सेवा निवृत्त भएका समाजशास्त्री सुशील यादव भन्नुहुन्छ, “पहिलो, तराई मधेशबाट बसाइँसरेर पहाडका सहरसम्म पुगेकाले छठ त्यहीँ मनाउन थाले । दोस्रो, पहाडमा छठ मनाउन सुरु हुँदा त्यहाँका स्थानीयले समेत अँगालेको देखिन्छ ।”

छठको महत्व

सूर्य पुराणमा उल्लेख भएबमोजिम छठ पर्व कात्र्तिक शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । वेद, पुराण तथा ग्रन्थहरूमा विभिन्न प्रकारले छठको महत्वबारे उल्लेख गरिएको छ । त्रेतायुगमा अत्री ऋषिकी पत्नी सती अनसुइयाले सर्वप्रथम छठपर्वको अनुष्ठान गर्नुभयो । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो ।

महाभारत कालमा वनवासका क्रममा द्रौपदीले राज्य फित्र्ता पाएपछि छठ व्रत बस्ने सङ्कल्प गरिन् । राज्य फित्र्ता पाएपछि उनी छठ मनाउन थालिन् । विभिन्न कालखण्डमा विभिन्न तवरले छठको प्रसङ्ग आए पनि अत्री ऋषिकी पत्नी अनसुइयाले सूर्यको आराधना गरी छठपर्वको सुरुवात गरेको विश्वास गरिन्छ । यो व्रत गरे सन्तानको प्राप्ति हुने, दुःखदरिद्र तथा चर्म रोग आदि सबै पीडाबाट मुक्ति पाइने विश्वास छ । मधेशको राजधानी जनकपुरधाम र प्रदेशको अर्को ठुलो सहर वीरगन्जसहित सप्तरीको राजविराज र कोशी प्रदेशको विराटनगरसहितका सहरमा भने छठ विशेष साजसज्जासहित मनाइन्छ ।

सन्ध्या अर्घ दिइने दिन मध्याह्नबाट नै छठ मनाउने सर्वसधारणको घुइँचो पोखरी, तलाउ, नदीकिनारमा देख्न सकिन्छ । सपरिवार पोखरीको डिलमा उपस्थित भई अस्ताउँदो सूर्यलाई अर्घसहित भाकल गरिन्छ र भाकल पूरा भएकाले दिनकरलाई नमन गर्दै रातिको मनोरञ्जनमा सरिक हुने गर्छन् ।

राज्यद्वारा सम्मान

केही दशकअघिसम्म छठले विशेष पहिचान र सम्मान पाउन सकेन तर हाल नेपाल सरकारबाट यस वर्ष छठमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गृह मन्त्रालयले षष्ठीको अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन आइतबार र सप्तमीको उदाउँदो सूर्यलाई अर्घ दिने सोमबार बिदा हुने जनाएको छ । त्रिविका विभाग प्रमुख डा. शेर्पा भन्नुहुन्छ, “छठको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएर राज्यले यस पर्वको महत्व र गरिमालाई सम्मान गरेको छ । यो केवल बिदाको घोषणा मात्रै नभई छठसँग जोडिएको संस्कृति, आस्था र परम्पराप्रति राज्यको सम्मान पनि हो ।”

लोक सेवा आयोगमा कार्यरत इन्जिनियर शम्भुकुमार झाले बिदाले सरकारी मात्रै नभई निजीक्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकलाई समेत ठुलो राहत हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सप्तमीको बिहान अर्घ दिएलगत्तै कार्यालय जाने हतार हुन्थ्यो । कतिपय अवस्थामा कार्यालय जान पाइन्नथ्यो । अब तनावविहीन भएर उल्लास गर्न पाइने भयो ।”

छठ मनाउने समुदायको दुई दिन बिदा दिनुपर्ने बर्सौंदेखिको माग थियो । इन्जिनियर झासहितका करिब दस घरपरिवारले बल्खु तरकारी बजारनजिक भएर बग्ने बागमती नदीमा छठपर्व मनाउनुहुन्छ । काठमाडौँ–१४ स्थित सो क्षेत्रमा छठ मनाउन वडा कार्यालयले समेत सरसफाइका लागि आवश्यक स्रोत साधन उपलब्ध गराएको छ ।

त्रिवि केन्द्रीय विभाग प्रमुख डा. शेर्पाले भने यससँगै अन्य चाडपर्वलाई समेत सम्मान गर्नुपर्ने तथा सम्बन्धित पर्वबारे अध्ययन, अनुसन्धान तथा सोही भाषामा प्रकाशनको काम हुनुपर्ने सुझाव दिनुहुन्छ ।

छठको विधि

छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म मनाइन्छ । ‘नहाय–धोय’ सँगै चतुर्थी तिथिमा अरबा–अर्बाइन मनाइन्छ । व्रतालु महिलाले चोखो आहार मात्रै खाने गर्छन् । पञ्चमी तिथिमा ‘खरना’ मनाइन्छ । पञ्चमी तिथिको राति हुने विशेष पूजनको प्रसाद ग्रहण गरेपछि व्रतालु महिला निराहार बस्छिन् । खरनापछि सुरु हुने निराहार व्रत सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूरा हुन्छ । त्यसैले यस पर्वलाई कठोर पर्वको रूपमा लिइने गरिएको छ ।

षष्ठीको बिहानैदेखि छठको प्रसादका लागि ठकवा, भुसवा तयार गरिन्छ । साथै मुला, भान्टा जस्ता तरकारी जन्य वस्तुसमेत प्रसादका रूपमा राखने चलन छ । प्रसादलाई बाँसले तयार गरिएको परम्परागत ढाकी र नाङ्गलोमा राखिन्छ । यस प्रकारको ढाकी र नाङ्लो डुम समुदायले तयार गर्छ । पूजन सामग्रीलाई अर्घ दिइने तलाउ र नदी सरसज्जा र लिपपोत गरेर पवित्र पारिएको घाटमा राखिन्छ ।

षष्ठीको साँझ घरनजिकको पोखरी, तलाउ, नदीमा गएर अस्ताउँदो सूर्यको अर्घ दिएपछि तेस्रो दिनको अनुष्ठान पूरा हुन्छ । समाजका सबै वर्ण र जात एउटै घाटमा सँगै पर्व मनाउने परम्पराले समेत छठलाई एकता र सद्भावको पर्वका रूपमा व्याख्या गरिएको छ ।

सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको समापन हुन्छ । सप्तमीको दिनलाई पारणसमेत भनिन्छ । सप्तमीको बिहान सूर्यलाई अर्घ दिए पनि छठ पर्वबारेको कथा व्रतालु महिलाले परिवारजन तथा डिलमा भेला भएका सर्वसधारणलाई सुनाउने परम्परा छ ।

सूर्यलाई जीवनशक्तिको स्रोतको रूपमा मानिन्छ । मिथिलाको छठ व्रत पनि यसै जीवनशक्तिको स्रोत, सूर्यको उपासना गर्ने एउटा मोहक आध्यात्मिक पद्धति हो । छठ आर्यहरूको सूर्योपासना परम्पराको एउटा अङ्ग हो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार
लगानी आकर्षित गर्न ५९ वटा ऐन फेरिँदै
२०८३ कार्तिक २९, आइतबार