मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो एमाले

भेलाको उद्घाटन मंसिर २ गते बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेकपा एमाले आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । स्थानीय तह चुनावको तयारीको लागि भन्दै एमालेले राष्ट्रिय भेलाको आयोजना गर्दै छ । यही मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी दुईदिने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभएको हो । भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका गरी तीन हजार ४१४ जना सहभागी हुने उहाँले जानकारी दिनुभएको छ ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू (प्रवासबाट समेत) र पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् । त्यसैगरी, जनप्रतिनिधितर्फ संघीय सांसदहरू, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू एवं पालिकाका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्षहरू, जनसंगठनका प्रतिनिधिहरू, विभिन्न उपसमितिमा रहेका नेता तथा भेला व्यवस्थापनमा खटिने स्वयंसेवकहरू सहभागी हुनेछन् । संख्याका हिसाबले राष्ट्रिय भेला महाधिवेशनभन्दा ठूलो र प्रतिनिधित्वको हिसाबले सबै क्षेत्र समेटिएको छ ।

भेलाको उद्घाटन मंसिर २ गते बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी, पार्टीको राजनीतिक दृष्टिकोणमा एकरूपता र वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु भेलाको उद्देश्य रहेको एमालेले जनाएको छ । एमालेद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपंक्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा संगठनात्मक एकतालाई सुदृढ बनाउन र मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको छ ।’

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तय गरिएको छ । अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुहुने छ । महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भेलामा सहभागी हुने सबैलाई स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा अनिवार्य पेस गर्न भनिएको छ । राष्ट्रिय भेला काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ । भेलाका सहभागीहरूले आ–आफ्नो आवासको व्यवस्था स्वयंले गर्नुपर्ने छ भने भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको एमालेले जनाएको छ । त्यसका लागि अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवकलाई भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापनको जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।

पार्टीलाई एउटै लयमा हिँडाउन राष्ट्रिय भेला : महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिंगो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने दाबी गर्नुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भेलाको मुख्य उद्देश्य नयाँ निर्णय गर्नुभन्दा पनि यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट पार्नुभएको हो । राष्ट्रिय भेला नीति निर्माण वा निर्णय गर्ने निकाय नभई भइसकेका निर्णयलाई पार्टीका सबै तहसम्म पुर्‍याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने मञ्च भएको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन । यो पार्टीले यसअघि गरेका निर्णयहरूलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिंगो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो । नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीलाई हुन्छ ।’

वैचारिक र संगठनात्मक एकता मजबुत हुन्छ : प्रमुख आचार्य

प्रचार विभाग प्रमुख नीरज आचार्यले राष्ट्रिय भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत रहेको जानकारी दिनुभएको छ । साथै, जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने रहेको भेलाको उद्देश्य रहेको उल्लेख गर्दै आचार्यले भन्नुभयो, ‘भेलाको मुख्य उद्देश्य पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु, आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु तथा पार्टीका दुई प्रमुख कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ । साथै, मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखिएको छ ।’

इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यमय बनेको एमालेको टिप्पणी

एमाले महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धानको प्रक्रिया रहस्यमय तर पारदर्शी नभएको टिप्पणी गर्नुभएको छ । इनम सापकोटालाई सरकारले नियन्त्रणमा लिए पनि उनको मोबाइल जफत र जोडिएका व्यक्ति बारेको अनुसन्धान रहस्यमय भएको टिप्पणी गर्दै पोखरेलले भन्नुभयो, ‘इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिन्छ, पारदर्शी छैन । लोकतन्त्रमा जनता सार्वभौम सम्पन्न हुन्छन् । जनताद्वारा जनताका लागि गरिने शासन भनिन्छ तर प्रधानमन्त्री संसद्मै जानुहुन्न ।’ पोखरेलका अनुसार प्रधानमन्त्री बालेनलाई झापाबाट उम्मेदवार बनाउने वा नबनाउने विषयमा गरिएको सर्वेक्षणदेखि चुनावी अभियानसम्म इनम सापकोटाकै नेतृत्वमा सञ्चालन भएको थियो । प्रधानमन्त्री बनेपछि पनि सरकार सञ्चालनका लागि बनाइएको कोर टिममा उनी सहभागी रहेका र प्रधानमन्त्रीको नाममा विभिन्न क्षेत्रलाई त्रसित पार्ने प्रयास गरेको विषय बाहिर आएको पोखरेलको भनाइ छ ।

भारत भ्रमणको क्रममा सीमा समस्याको विषय उठाउन माग

महासचिव पोखरेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने माग गर्नुभएको छ । नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले संसद्मै दिएको आपत्तिजनक अभिव्यक्ति व्यवहारबाट सच्याउन माग गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले तेस्रो पक्षको उपस्थितिसम्बन्धी अभिव्यक्ति सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छैन । प्रधानमन्त्रीले आगामी भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुहुने छ भन्ने अपेक्षा छ ।’

स्थानीय तहको चुनावमा रास्वपा चौथो पार्टी : सचिव बस्नेत

एमाले सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्न दाबी गर्नुभएको छ । एमालेको आन्तरिक सर्वेक्षणले पहिलो पार्टी बन्ने देखिएको दाबी गर्दै बस्नेतले भन्नुभयो, ‘आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहने अनुमान छ ।’ बालेन्द्र शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने उहाँको चेतावनी छ ।

स्थायी कमिटी बैठक आज

नेकपा एमालेले यही मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न आज (मंगलबार) दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतले राष्ट्रिय भेलाको सम्बन्धमा आवश्यक छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकका लागि पार्टीले भोलिदेखि आयोजना गर्न लागेको राष्ट्रिय भेलाबारे छलफलको छलफल मुख्य एजेण्डा बनाइएको छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार