मंग्सिर २, २०८३ बुधबार November 18, 2026

स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर

कतिपय स्थानीय तहमा प्रवक्तालाई नाम मात्रको पद दिइने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर २ गते । अधिकांश स्थानीय तहका प्रवक्तालाई आफ्नै गाउँ र नगरपालिकाको सूचना तथा जानकारी हुँदैनभन्दा अचम्म लाग्न सक्ला । अझ कतिपय स्थानीय तहका वडाध्यक्षले त आफ्नै स्थानीय तहको सूचना तथा जानकारी राख्न चासो देखाउँदैनन् । कतिपय प्रवक्तालाई गाउँ र नगर कार्यपालिकाले नै पर्याप्त सूचना दिन चाहँदैनन् ।

स्थानीय तहका प्रवक्तालाई आफ्नै स्थानीय तहका गतिविधि, निर्णय, योजना, बजेट, विकास निर्माण, सेवा प्रवाह र समसामयिक घटनाबारे जानकारी नहुनु संस्थागत समन्वयको अभाव, जवाफदेहिता र सार्वजनिक सञ्चार प्रणालीप्रतिको उदासीनता हो ।

अधिकांश गाउँपालिका र नगरपालिकामा वडाध्यक्षलाई नै गाउँ र नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी तोकिँदै आएको छ तर स्थानीय सरकार सञ्चालन ऐनमा भने वडाध्यक्षलाई नै प्रवक्ताको जिम्मेवारी दिनुपर्ने स्पष्ट रूपमा  उल्लेख गरिएको छैन । प्रवक्ता भएकै कारण वडाध्यक्षको पद स्वतः प्राप्त हुने वा वडाध्यक्ष नै प्रवक्ता हुनुपर्ने कानुनी बाध्यता छैन ।

स्थानीय तहको कार्यपालिका कार्यसम्पादन नियमावलीमा कार्यपालिकाले आफ्ना कामकारबाही तथा निर्णय सार्वजनिक गर्न कार्यपालिका सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था गरेको छ । स्थानीय तहका वडाध्यक्ष गाउँ वा नगर कार्यपालिकाको पदेन सदस्य हुने स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई गाउँ र नगर कार्यपालिकाले प्रवक्तालाई सूचना नदिएर उपेक्षा गरेको बताउँदै भन्नहुन्छ, “प्रवक्ता आफैँले पनि सूचना लिन नसक्नु भने उसको कमजोरी हो ।”

उहाँका अनुसार कतिपय स्थानीय तहमा प्रवक्तालाई नाम मात्रको पद दिइन्छ । सूचना सङ्कलन, अद्यावधिक र सार्वजनिक गर्ने औपचारिक संयन्त्र बनाइएको हुँदैन । भट्टराईले भन्नुभयो, “स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, वडा कार्यालय र विषयगत समितिबिच नियमित सूचना आदानप्रदान हुँदैन । त्यसको प्रत्यक्ष असर प्रवक्ताको कामकारबाहीमा पर्छ ।”

कामको चापले भ्याउन कठिन

मोरङको मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता पर्वत राईले स्थानीय तहमा वडाध्यक्ष नै प्रवक्ता हुने भएकाले वडाध्यक्षको कार्यजिम्मेवारीले गर्दा आवश्यक सूचना र जानकारी लिन नसकिएको बताउनुभयो ।

उहाँले गुनासो गर्दै भन्नुभयो, “वडाध्यक्षलाई बिहानदेखि कार्यालय अवधिभरि नै वडाको काममा भ्याइ नभ्याइ हुन्छ  । विकास निर्माणका कामको अनुगमन र समन्वय गर्नु पर्छ । त्यसमा वडाध्यक्षलाई प्रवक्ताको समेत दोहोरो जिम्मेवारी दिँदा सबै सूचना नपाउन सकिन्छ । स्थानीयको गुनासो सुनुवाइ गर्दा कतिपय गाउँ कार्यपालिकाको बैठकमा समेत जान नसकिने भएकाले प्रवक्तालाई गाउँ र नगर कार्यपालिकाको जानकारी लिन कठिन भएको छ ।”

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाका प्रवक्ता रणबहादुर थापा प्रवक्ता र वडाध्यक्षले कानुनी र व्यावहारिक समस्याले गर्दा चाहेर पनि पर्याप्त सूचना र जानकारी लिन नसकेको बताउनुहुन्छ । यसका लागि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरेर प्रवक्ताका बारेमा प्रस्ट नीति बनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

छैन कार्यविधि 

राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले स्थानीय तहमा आन्तरिक सूचना प्रवाह गर्ने कार्यविधि नहुँदा प्रवक्ता र सूचना अधिकारीलाई हामी एकमुस्ट हो है भन्ने भावना जागृत गराउन नसकिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहका प्रवक्ता गाउँ र नगरपालिकामा बसेर काम नगर्ने भएकाले प्रवक्तालाई आफ्नै वडाको र कार्यपालिकाको बैठकको मात्र जानकारी हुने गरेको छ । गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुख प्रवक्ता हुने हो भने सबै सूचना उहाँलाई हुन्छ तर कार्यजिम्मेवारीले उहाँहरूलाई प्रवक्ताको जिम्मेवारी दिनु सान्दर्भिक हुँदैन । कार्यपालिकाका सदस्य प्रवक्ता र कर्मचारीका तर्फबाट तोकिने सूचना अधिकारी सहायक प्रवक्ता तोकिनु पर्छ । सम्भव भएसम्मको काम पनि सूचना अधिकारीबाटै गर्नु पर्छ । प्रवक्ताले भने स्थानीय तहको नीतिगत निर्णयको जानकारी लिने अन्य काम सहायक प्रवक्ताबाट गराउन सके सूचना सहज बन्न सक्छ । उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहले एउटा सूचना शाखा बनाउनु पर्छ । उक्त शाखाले स्थानीय तहका सबै सूचना सङ्कलन गर्नु पर्छ । शाखाबाट स्थानीय तहको असल अभ्यासलाई आमनागरिकमाझ पु¥याउन सकिने र स्थानीय तह पनि पारदर्शी हुन्छन् ।”

अधिकांश स्थानीय तहका प्रवक्ताले सभा तथा कार्यपालिकाका निर्णय, वार्षिक नीति तथा कार्यक्रम, बजेट, योजना र प्रगति विवरण नियमित अध्ययन नगर्दा सामान्य प्रश्नको जवाफसमेत दिन कठिन हुने गरेको छ । स्थानीय तहको आधिकारिक प्रवक्ता नै आफ्नै स्थानीय तहका गतिविधि, निर्णय र योजनाबारे अनभिज्ञ हुँदा नागरिकले सही सूचना नै पाउँदैनन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर कति पुग्यो ?
२०८३ मंग्सिर २, बुधबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ मंग्सिर २, बुधबार
आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर २, बुधबार
स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर
२०८३ मंग्सिर २, बुधबार
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार