मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पर्यटनमार्फत नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

नेपाल र भारतबीचको सम्बन्धलाई जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  मङ्सिर ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभएको हो ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत, उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजलगायत दुवै देशका सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित छैन, यो हाम्रो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ । पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ ।”

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता तथा स्वास्थ्य र आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उल्लेख गर्नुभयो । साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गर्नुभएको छ । भेटमा नेपाल–भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको उहाँको सचिवालयले जनाएको छ । हवाई सम्पर्क विस्तारलाई पर्यटन आवागमन वृद्धि गर्ने महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्त्व उजागर गर्नुभयो । उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा। सुरेन्द्र थापाले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत ‘नेपाल कलिङ’ अभियानप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अभियानमार्फत भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गर्दै नेपाल सुरक्षित, खुला, सङ्कटसँग जुधेर अघि बढिरहेको र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिनुभएको थियो । उहाँले आफ्नो प्रस्तुतीकरणमा नेपालका धार्मिक, आध्यात्मिक, साहसिक, सांस्कृतिक, प्राकृतिक, वेलनेस तथा अनुभवमा आधारित पर्यटनका विविध सम्भावना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भारतीय टुर अपरेटर सङ्घ (आइएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर सिर्जना गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ ।

नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धलाई पर्यटनमार्फत आर्थिक तथा सामाजिक साझेदारीमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्य विस्तारका लागि थप आधार तयार गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया