मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

वित्तीय संस्थाले बढी असुलेको ब्याज फिर्ता गर्न माओवादीको चेतावनी

वित्तीय संस्थाको शोषणविरुद्ध माओवादी आक्रामक, ऋणीको घरजग्गा लिलाम रोक्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, मंसिर ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निजी बैंक तथा वित्तीय संस्थाले ऋणीबाट सम्झौताभन्दा बढी ब्याज, हर्जना र सेवाशुल्क असुल गरेको आरोप लगाउँदै त्यस्तो रकम तत्काल फिर्ता गर्न चेतावनी दिएको छ।

पार्टीका केन्द्रीय कमाण्ड इन्चार्ज क. कविरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको आर्थिक मन्दीको प्रमुख कारण निजी क्षेत्रका वित्तीय संस्थाको गतिविधि रहेको दाबी गरेका छन्। निजी बैंक तथा लघुवित्त संस्थाले गरिब किसान, मजदुर र मध्यमस्तरका व्यवसायीलाई विभिन्न नाममा आर्थिक शोषण गरिरहेको उनको आरोप छ।

विज्ञप्तिमा वित्तीय संस्थाले ऋणीका घरजग्गा वित्तीय कानुनको आडमा कम मूल्यमा कब्जा गर्ने गरेको भन्दै यस्तो कार्य तत्काल रोक्न माग गरिएको छ। ऋणीको उपस्थिति र सहमतिबिना तयार पारिएका कागजातका आधारमा घरजग्गा लिलाम, बिक्री तथा दाखिला खारेज नगर्न पनि सम्बन्धित निकायलाई चेतावनी दिइएको छ।

वित्तीय संस्थाका कर्मचारी तथा बिचौलियाको मिलेमतोमा कसैको घरजग्गा सिफारिस, खरिद वा दाखिला खारेज गरिए सम्बन्धित व्यक्तिमाथि जनकारबाही गर्ने र त्यस्तो घरजग्गा आफ्नो पार्टीले कब्जा गर्ने विज्ञप्तिमा उल्लेख छ।

पार्टीले वित्तीय शोषणविरुद्ध सम्पूर्ण वित्तीय पीडितलाई एकजुट हुनसमेत आह्वान गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया