मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

क्रेमलिनले युरोपेली अधिकारीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न मस्को आउन प्रस्ताव गरेको भए पनि भ्रमणको मिति तय भएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्लिन, मङ्सिर ४ गते ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सहज बनाइएको बताउनुभयो । उहाँसँगै उपस्थित अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको छलफलका विषयमा युरोपेली नेताहरूलाई जानकारी गराउनुभएको थियो ।

कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिन सकारात्मक हुनुहुन्छ । तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उहाँको भनाइ छ । कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उहाँले स्पष्ट पार्नुभयो ।

युक्रेनले भविष्यमा रुसी आक्रमण हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था माग्दै आएको छ भने रुसले नेटोको सैन्य प्रभाव आफ्नो सीमाबाट टाढा राख्न चाहेको छ । नेटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ । यद्यपि, प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा रुस तथा युक्रेनको सहमति हुने विषय अझै स्पष्ट भएको छैन ।

यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप चुनौती दिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको पुटिनले बताउनुभएको छ । उहाँले चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै आक्रमणको जवाफ दिने चेतावनी दिनुभयो ।

रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियामाथिको नियन्त्रणको प्रतीक मानिने उक्त पुल रुसी सेनाको आपूर्तिका लागि पनि महत्त्वपूर्ण मार्ग हो । आक्रमणपछि रातभर रोकिएको रेल सेवा बिहीबार दिउँसो पुनः सञ्चालन गरिएको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणले रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुर्‍याउने जनाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार बिहीबार राति देशका १० क्षेत्रमा ५३ युक्रेनी ड्रोन खसालिएका थिए । साराटोभ क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको स्थानीय गभर्नर रोमन बुसार्गिनले बताउनुभएको छ । ब्रायन्स्क क्षेत्रमा आठ वर्षीय नातिसँग साइकलमा रहेकी एक महिलाको पनि ड्रोन आक्रमणमा मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले एन्टी–शिप क्षेप्यास्त्र र ९८ ड्रोन प्रहार गर्दा १८ स्थानमा आक्रमण भएको थियो । रुसी आक्रमणबाट युक्रेनका १२ क्षेत्रमा क्षति पुग्नुका साथै दुई जनाको मृत्यु र कम्तीमा २३ जना घाइते भएका छन् । किएभस्थित नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावासमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।

रुसले सैनिक तथा सैन्य स्रोतसाधनको सङ्ख्यात्मक क्षमताका आधारमा युक्रेनलाई कमजोर पार्ने रणनीति अपनाएको छ । तर, युक्रेनले ड्रोनको प्रयोगबाट रुसी सेनाको अग्रगमन रोक्दै आएको छ । रुसले जाडोयामअघि युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ भने युक्रेनले लामो दूरीका ड्रोन र क्षेप्यास्त्रबाट रुसी तेल प्रशोधन केन्द्रलगायतका लक्ष्यमा प्रहार गरिरहेको छ ।

चीनमा पुटिनसँगको भेटमा ट्रम्पले उहाँलाई ‘मित्र’ सम्बोधन गर्नुभएको थियो । यसले युक्रेनका युरोपेली सहयोगीहरूमा चिन्ता बढाएको छ । ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको सम्बन्धसमेत पछिल्लो समय कमजोर बनेको छ । युरोपेली नेताहरूले ट्रम्प र पुटिनबीचको प्रत्यक्ष वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर पार्न सक्ने आशङ्का गरेका छन् ।

कुशनरले भने ट्रम्पले पुटिन र सी जिनपिङ दुवैलाई शान्तिका लागि स्पष्ट सन्देश दिएको बताउनुभयो । पुटिनले पनि युक्रेन युद्धसम्बन्धी वार्तामा युरोपेली सहभागिताको विरोध नगरेको तर युरोपले कस्तो भूमिका निर्वाह गर्न चाहन्छ भन्ने स्पष्ट हुनुपर्ने बताउनुभएको छ । क्रेमलिनले युरोपेली अधिकारीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न मस्को आउन प्रस्ताव गरेको भए पनि भ्रमणको मिति तय भएको छैन । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार