मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

क्लबगत रूपमा कुल सुनिश्चित पारिश्रमिक खर्च गर्ने टोलीमध्ये इन्टर मियामी ५ करोड ९३ लाख ७० हजार डलरसहित शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ मंसिर । खेलाडी संघ (एमएलएस प्लेयर्स एसोसिएसन) ले बिहीबार सार्वजनिक गरेको तलब विवरण अनुसार अर्जेन्टिनी स्टार लियोनेल मेसी ‘मेजर लिग सकर’ (एमएलएस) मा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन् । उनको सुनिश्चित (ग्यारेन्टी) वार्षिक पारिश्रमिक २ करोड ८३ लाख अमेरिकी डलर रहेको छ ।

मेसीको यो पारिश्रमिक गत वर्षको तुलनामा करिब ८० लाख डलरले बढी हो । यद्यपि, यस रकममा क्लबबाट खेल खेलेबापत प्राप्त हुने पारिश्रमिक मात्र समावेश छ; प्रायोजन तथा अन्य व्यावसायिक स्रोतबाट हुने आम्दानी यसमा जोडिएको छैन ।

यस वर्षको सुरुमा शिकागो फायरमा आबद्ध भएका पोल्यान्डका रोबर्ट लेवान्डोस्की १ करोड ९५ लाख १० हजार डलर (१९.५१ मिलियन) सहित सूचीको दोस्रो स्थानमा छन् ।

त्यसैगरी, ओर्लान्डो सिटीका फ्रान्सेली खेलाडी एन्टोइन ग्रिजम्यान १ करोड ३९ लाख ४० हजार डलरसहित तेस्रो, लस एन्जलस एफसी (एलएएफसी) का दक्षिण कोरियाली स्टार सन ह्युङ-मिन १ करोड ११ लाख ५० हजार डलरसहित चौथो तथा एटलान्टा युनाइटेडका स्विस खेलाडी ब्रिल एम्बोलो १ करोड ८ लाख १० हजार डलरसहित पाँचौँ स्थानमा रहेका छन् ।

क्लबगत रूपमा कुल सुनिश्चित पारिश्रमिक खर्च गर्ने टोलीमध्ये इन्टर मियामी ५ करोड ९३ लाख ७० हजार डलरसहित शीर्ष स्थानमा छ ।

यस्तै, शिकागो फायर (४ करोड १२ लाख ९० हजार डलर) दोस्रो, एटलान्टा युनाइटेड (३ करोड ८३ लाख ५० हजार डलर) तेस्रो, लस एन्जलस ग्यालेक्सी (३ करोड ४९ लाख १० हजार डलर) चौथो र एलएएफसी (३ करोड २९ लाख १० हजार डलर) पाँचौँ स्थानमा रहेका छन् ।

लिगमा सबैभन्दा कम पारिश्रमिक खर्च गर्ने टोलीहरूमा फिलाडेल्फिया युनियन (१ करोड २६ लाख ४० हजार डलर) पुछारमा छ । त्यसपछि कम खर्च गर्नेमा स्पोर्टिङ कान्सास सिटी (१ करोड ३३ लाख डलर) र डीसी युनाइटेड (१ करोड ४५ लाख ५० हजार डलर) रहेका छन् ।

यो तथ्याङ्क गत अक्टोबर ९ सम्मको हो, जसमा समर ट्रान्सफर (गृष्मकालीन स्थानान्तरण) अवधिमा क्लब भित्रिएका खेलाडीहरूको पारिश्रमिकलाई पनि वार्षिक रूपमा गणना गरी समावेश गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया