काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
प्रहरीका अनुसार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत सोमबार राति काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। उनीहरू भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा पक्राउ परेका थिए।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेको प्रहरीले जनाएको छ। जाँचका क्रममा उनीहरूले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रभित्र लुकाएर ल्याएको आठ थान गोलाकार पहेँलो अर्धठोस पदार्थ फेला परेको थियो।
प्रहरीका अनुसार लिन लिनाको साथबाट पाँच थान पदार्थ बरामद भएको थियो, जसको प्लास्टिकसहितको तौल एक किलो ३४० ग्राम रहेको छ। त्यस्तै, लिन सिनपिङको साथबाट तीन थान पदार्थ बरामद भएको र त्यसको तौल एक किलो आठ ग्राम रहेको छ। दुवैबाट बरामद पदार्थको कुल तौल दुई किलो ३४८ ग्राम रहेको हो।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार बरामद पदार्थ वास्तविक सुन हो वा होइन भन्नेबारे परीक्षण तथा अनुसन्धान भइरहेको छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि दुवै महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
घटनामा बरामद पदार्थको वास्तविक प्रकृति, त्यसको स्रोत र नेपाल ल्याउनुको उद्देश्यबारे परीक्षण तथा थप अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया