मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

दूधको भाउ प्रतिलिटर ८० रुपैयाँ कायम गर्नुपर्ने किसानको माग

उत्पादन लागत बढ्दै जाने तर दूधको उचित भाउ नपाउने अवस्था रहिरहे किसान विस्थापित हुने चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ । किसानले दूधको भाउ समायोजन गरिनुपर्ने तथा प्रतिलिटर ८० रुपैयाँ कायम हुनुपर्ने माग गर्दै आएका छन् ।

दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा आम्दानी खुम्चिँदै गएको किसानको गुनासो छ ।

कास्कीको सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्र पाउँदै आएको र यो भाउले उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट झण्डै ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालले बताउनुभयो ।

उत्पादन लागत बढ्दै जाने तर दूधको उचित भाउ नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्ने जोखिम रहेको किसान प्रतिनिधि बताउँछन् । माछापुच्छ्रे गाउँपालिका–४ का कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको भाउ बढिरहेको तर तीन वर्षदेखि दूधको भाउ यथावत् रहेको बताउनुभयो ।

दूधको भाउ बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आएको छ । उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानको उत्पादन लागतसमेत नउठ्ने अवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया