काठमाण्डाै । आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन दुई लाख रुपैयाँ माग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गाका टेकराज श्रेष्ठ, रामेछापका इन्द्रबहादुर भुजेल, पाल्पाका धिरज रानाभाट, सिन्धुपाल्चोकका खेलबहादुर मगर र सिन्धुलीका हर्क सिंह भोलन रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
प्रहरीका अनुसार गएको बिहीवार मङ्सिर १० गते दिउँसो सोधपुछका लागि काँडाघारी प्रभागमा बोलाइएका एक व्यत्तिलाई भेट्न उनका भाइ पुगेका थिए । त्यही क्रममा ती पाँच जनाले आफूहरू इन्स्पेक्टर भएको भन्दै दाइलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर पैसा मागेका थिए । साथै उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएका खुलेको छ ।
पीडितले पैसा तिर्न अस्वीकार गरेपछि उनीहरूले फोन र म्यासेन्जरमार्फत धम्की दिएका थिए ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–९ वीरेन्द्र चोकबाट पाँच जनालाई पक्राउ गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया