काठमाण्डौंः भारतको केन्द्रीय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या ५ लाख १७ लाख २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुल सङ्क्रमित मध्ये अहिलेसम्म ४ लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा ८ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी वद्धि भएको छ ।
तिव्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि ५०० रुपय मात्रै रहेको जरिवानालाई एकाएक वद्धि गरेर २ हजार बनाइएको हो ।
त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् । रासस/ एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया