काठमाण्डौंः अमेरिकाको पेन्सिल्भेनिया राज्यमा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले खारेज गरिदिएको छ ।
राष्ट्रपति निर्वाचनमा आफ्नो पराजय स्वीकार्नु सट्टा ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन् । पेन्सिल्भेनिया राज्यका न्यायाधीशले दिएको फैसलाले ट्रम्पलाई ठूलो धक्का लागेको छ ।
न्यायाधीश म्याथ्यू ब्रानले आफ्नो आदेशमा ट्रम्पको कानूनी टोलीले राज्यमा हुलाकबाट प्राप्त मतपत्रका बारेमा उचित र पर्याप्त प्रमाण पेश गर्न नसकेको बताएका छन् ।
यो निर्णयसँगै पेन्सिल्भेनिया राज्यमा राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनको पक्षमा मतपरिणाम सदर गर्न बाटो खुलेको छ । राज्यले सोमवार बाइडेन विजयी भएको प्रमाणपत्र दिनेछ । बाइडेनले हालसम्म ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपति ट्रम्पले २३२ मत मात्र प्राप्त गरेका छन् ।
आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) ले औपचारिक रुपमा राष्ट्रपतिलाई मतदान गर्नेछन् र त्यसभन्दा अघि नै सबै राज्यले इलेक्टोरल कलेजलाई प्रमाणीकरण गरिसक्नु पर्नेछ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया