असार २५, २०८२ बुधबार July 9, 2025

बर्दिवास घटनाः संयुक्त राष्ट्रसंघद्वारा कडा शब्दमा भर्त्सना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसंघले महोत्तरीको बर्दिवास नगरपालिकामा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। नेपालस्थित राष्ट्रसंघको आवासीय संयोजकको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै बर्दिवास घटनाको भर्त्सना गरेको हो।

“बर्दिवासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको नेपालस्थित राष्ट्रसंघको कार्यालय कडा शब्दमा भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “हामी सम्बन्धित अधिकारीहरूलाई बाँकी प्रक्रियाको पालना गर्न र दोषीलाई कारबाही हुने सुनिश्चितता गर्न आग्रह गर्दछौं।”

उक्त घटना लैंगिक आधारमा हुने हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा भएको थियो। यो घटनाले महिला र किशोरीहरूको सुरक्षामा गम्भीर हुन अत्यन्त आवश्यक रहेको पुष्टि गरेको जनाइएको छ।

पीडितका आवश्यकता पूरा गर्न र दोषीलाई कारबाही गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न राष्ट्रसंघ तयार रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रसंघले यस्ता घटनाका पीडित र पीडित परिवारको सबै प्रकारका आवश्यकताहरू पूरा गर्नुपर्ने जनाएको छ।

राष्ट्रसंघले प्रदर्शनकारी र सुरक्षा निकायलाई आफ्नो आवाज जिम्मेवारीपूर्वक उठाउन र परिस्थितिलाई अझ बढाउनबाट रोक्न संयम अपनाउनसमेत आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया