बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

गलत तर्कहरूको विपक्षमा – प्रा. कृष्ण पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यतिवेला नेपाल कम्युनिस्ट पार्टीको सत्तारुढ ओलीपक्ष प्रतिनिधिसभा विघटनको आफ्नो असंवैधानिक कदमको बचाउ गर्न, निर्वाचनको औचित्य पुष्टि गर्न एवं महिमागान गाउन अनेक कुतर्क गरिरहेछ । कुरा त्यहीँ रोकिँदैन । भाष्य त के पनि बनाउन खोजिएको छ भने निर्वाचन भयो भने उसले पूर्ण बहुमत प्राप्त गर्छ र राजनीतिक स्थायित्व सुनिश्चित हुन्छ । तर, कथं–कदाचित अदालतको आदेशबाट प्रतिनिधिसभा ब्युँतियो भने सब बरबाद हुन्छ र राजनीतिक अस्थिरता निम्तिन्छ । अब एक–एक गरी यिनै विषयलाई तथ्यको कसीमा जाँचौँ र एउटा निष्कर्षमा पुगौँ ।

प्रतिनिधिसभा विघटनको आफ्ना कदमको बचाउ गर्न प्रधानमन्त्री र उनको पक्षले अघि सारेको तर्कमध्ये एउटा प्रमुख तर्क हो, उनको यो कदम राजनीतिक हो र राजनीतिक विषयमा अदालत प्रवेश गर्न मिल्दैन । तर, ०५१ सालदेखि जतिपटक प्रतिनिधिसभा विघटन भयो हरेकपटक यस विषयमा अदालत प्रवेश गरेको छ र आफ्नो निर्णयद्वारा संविधानको रक्षा गरेको छ । त्यही नजिरलाई परिपालन गर्दै यसपटक पनि अदालतले प्रधानमन्त्रीको तर्क स्वीकार गरेन र प्रवेश गरिछाड्यो । दोस्रो हो, विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्क ।

विशेषाधिकार हो भने त्यो संविधानमा लेखेको हुनुपर्‍यो नि ! त्यो कहाँ लेखेको छ ? वास्तवमा यस्तो विशेषाधिकारको व्यवस्था ०४७ सालको संविधानमा स्पष्टसँग लेखिएको थियो । वास्तवमा त्यसको पटक–पटक दुरुपयोग भएको अनुभवका आधारमा सचेत रूपमा नै त्यो प्रावधानलाई संविधान निर्माताले नयाँ संविधानमा राखेनन् । अब त्यो संविधानमा हुँदै नभएको अधिकारको दुहाई दिनुको के तुक ?

तेस्रो तर्क, संविधानको धारा ७४ले नेपालको शासन व्यवस्था संसदीय भनेर मानेको छ र संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् भंग गर्ने अधिकार स्वतः अन्तर्निहित हुन्छ । निःसन्देह, संविधानले मुलुकको शासन व्यवस्था संसदीय मानेको छ । तर, प्रश्न उठ्छ, कस्तो संसदीय ? संसारमा अनेकौँ संसदीय व्यवस्था छन् । कहाँको संसदीय व्यवस्थालाई मानक मान्ने ? एक छिनलाई संसदीय व्यवस्थाको जननी भनेर मानिने बेलायतकै संसदीय व्यवस्था हो भनेर मानौँ । त्यहाँ पनि प्रधानमन्त्रीको हातबाट संसद् भंग गर्ने विशेषाधिकार निश्चित कार्यकाल संसदीय ऐन २०११ को माध्यमबाट खोसिएको छ ।

त्यहाँ पनि अब हाउस अफ कमन्सको असमयमा विघटन आवश्यक भएमा स्वयं हाउसकै दुईतिहाइ बहुमतबाट मात्र सम्भव छ । चौथो तर्कचाहिँ सर्वोच्च अदालतलाई जवाफ पठाउँदा तर्कवीर प्रधानमन्त्रीले अघि सारेका छन् । उनी भन्छन्– यो संविधानमा प्रधानमन्त्रीले संसद् भंग गर्न पाउँदैन भनेर कहीँ लेखेको छैन, अतः त्यसलाई भंग गर्न पाउनु उनको अधिकार हो । सहज ज्ञानले के भन्छ भने अधिकार त लेखेको कुराले सिर्जना गर्छ नलेखेकाले होइन । प्रधानमन्त्रीको यो तर्कलाई स्वीकार गर्ने हो भने यो संविधानमा त प्रधानमन्त्री ओली आजीवन प्रधानमन्त्री हुन पाउँदैनन् भनेर पनि कहीँ लेखेको छैन । उसो भए के उनी आजीवन प्रधानमन्त्री हुन पाउँछन् त ? यसैलाई भन्छन् कुतर्क ।

एउटा तर्क के पनि छ भने पार्टी र संसद्ले प्रधानमन्त्रीलाई काम गर्न दिएन । अतः दुईतिहाइ बहुमत ल्याएर काम गर्नका लागि संसद् भंग गर्न उनी बाध्य भए । यो त झन् विरोधाभासी तर्क हो । किनकि एकातिर उनी मलाई काम गर्न दिएनन् भनेर संसद् भंग गर्छन्, अर्कोतिर सरकारी आमसभामा आफ्नो तीनवर्षे कार्यकालका उपलब्धिको घन्टौँ बखान गरेर पनि थाक्दैनन् । अब उनका यी दुई दाबीमध्ये कुन ठीक, कुन बेठीक ? वास्तवमा यसैलाई भन्छन्– ढाँटेको कुरा मरिकाटे मिल्दैन ।

प्रधानमन्त्रीको सिफारिसलाई अदालतले असंवैधानिक भनेर बदर गर्‍यो भने र उनमा पित्को मात्र पनि नैतिकता बाँकी छ भने त्यही आधारमा उनले राजीनामा गर्नुपर्ने हुन्छ । तर, सत्तामा लिसो टाँसिएजस्तै टाँसिने प्रधानमन्त्रीबाट त्यस्तो आशा गर्नु पनि व्यर्थ हो ।

तर्क त के पनि गर्छन् भने यो अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना संविधानको कुन धारामा टेकेर गर्छ ? किनकि त्यस्तो पुनस्र्थापनाको कुनै प्रावधान संविधानमा कतै छैन । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने अदालतले गर्ने भनेको प्रधानमन्त्री ओलीको विघटनको सिफारिसलाई त्यही सिफारिसकै बिन्दुबाट असंवैधानिक भनेर खारेज गर्ने हो र संविधानलाई लिकमा ल्याउने हो ।

अदालतले त्यसो गर्नासाथ प्रधानमन्त्रीले संविधानमाथि पुर्‍याएको क्षति नियन्त्रण हुन्छ र संवैधानिक प्रक्रिया स्वतः चालू हुन्छ । साँच्चै भन्ने हो भने प्रधानमन्त्रीको सिफारिसलाई अदालतले असंवैधानिक भनेर बदर गर्‍यो भने र उनमा पित्को मात्र पनि नैतिकता बाँकी छ भने त्यही आधारमा उनले राजीनामा गर्नुपर्ने हुन्छ । तर, सत्तामा लिसो टाँसिएजस्तै टाँसिने प्रधानमन्त्रीबाट त्यस्तो आशा गर्नु पनि व्यर्थ हो । अतः उनले अधिवेशन आह्वान गरेनन् भने पनि सांसदले समावेदनमार्फत संसद्को विशेष अधिवेशन माग गरेर संवैधानिक प्रक्रियालाई अघि बढाइहाल्छन् ।

एउटा जबर्जस्त प्रश्न के गर्छन् भने यो कस्तो संवैधानिक व्यवस्था हो, जसमा बहुमत प्राप्त प्रधानमन्त्रीले चाहिँ संसद् विघटन गर्न नपाउने र संसद्ले विश्वास नगरेको ऐरेगैरे प्रधानमन्त्रीले चाहिँ पाउने ? अब यही व्यवस्था संविधानमा छ भने त्यसलाई नमान्ने विकल्प हामीसँग छ र ? यदि नमान्ने हो भने संसद्मा दुईतिहाइ बहुमत जुटाएर यो प्रावधान संशोधन गर्नुपर्‍यो । तर, यहाँ जान्नुपर्ने कुरा के छ भने यो प्रावधान बुझ्दै नबुझी हठात् राखिएको भने होइन । वास्तवमा यो संविधानको धारा ७६ को खास उद्देश्य प्रतिनिधिसभाको कार्यकाल सुनिश्चित गर्नु हो । अतः यो त्यस वेला मात्र विघटन हुन सक्छ, जब यसले सरकार दिन सक्दैन । सरकार दिन सक्ने अवस्था विद्यमान रहुन्जेल प्रतिनिधिसभा पूर्ण कार्यकाल बहाल रहन्छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्नेहरूमाथि विघटनवादीको एउटा आरोप के छ भने यी आफ्नो पत्तासाफ हुन्छ भनेर निर्वाचनसँग डराएका हुन् र निर्वाचनसँग डराउने भनेको लोकतन्त्र र जनतासँग डराउनु हो । लोकतान्त्रिक व्यवस्थामा निर्वाचनबाट भाग्ने र जनताको निर्णयसँग डराउने कल्पना कुनै पनि लोकतान्त्रिक पार्टीले गर्छ भन्ने सोच्नसम्म पनि सकिन्न ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचनबाट भाग्ने र जनताको निर्णयसँग डराउने कल्पना कुनै पनि लोकतान्त्रिक पार्टीले गर्छ भन्ने सोच्नसम्म पनि सकिन्न ।

वास्तवमा कुनै पनि लोकतन्त्रमा जनताको अदालत नै अन्तिम अदालत हुन्छ । तर, जुन मुद्दाको छिनोफानो गर्ने क्षेत्राधिकार जोसँग छ, त्यो त त्यहीँ पेस हुनुप¥यो नि ! प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको निर्णय संवैधानिक हो वा असंवैधानिक त्यसको टुंगो लाउने अन्तिम अदालत भनेको सर्वोच्च अदालत नै हो र यो मुद्दा त्यहीँ विचाराधीन छ । रह्यो शासनको बागडोर सुम्पने मुद्दाको फैसला गर्ने विषय, त्यो समय आएपछि प्रस्तुत हुने भनेकै नागरिकको बृहत् इजलासमा हो । त्यसवेला मतदाताले जसको पक्षमा जनादेश दिन्छन्, उनै आवधिक रूपमा शासक बन्छन् ।

रह्यो दुईतिहाइ बहुमतको प्रधानमन्त्रीको मागको कुरा । संंसद् विघटनको कदमले उनको पार्टी फुटको दैलोमा छ । यस्तो वेला निर्वाचनमा उनी दुईतिहाइ जितको दाबी गर्दै छन् । ०५१ देखि आजसम्मको आमनिर्वाचनले सिकाएको एउटा सरल पाठ के छ भने विभाजित मन होस् वा पार्टी त्यसले पराजयकै मुख देखाउँछ ।

जस्तो कि ०५१ को मध्यावधि चुनावमा नेपाली कांग्रेस विधिवत् फुटेको थिएन, तर छत्तीसे र चौहत्तरेका रूपमा नेता–कार्यकर्ताको मन यसरी फाटेको थियो कि त्यो पार्टीले छँदाखाँदाको बहुमत गुमायो । ०५६ सालमा विभाजनकै कारण एमाले पराजित भयो । त्यही विभाजनकै कारण ०७० को संविधानसभाको निर्वाचनमा माओवादी नराम्ररी पछारियो । इतिहासले पस्केको यो कठोर सत्यलाई बेवास्ता गर्दै कुन ‘खयाली पुलाउ’ पकाउँदै छन् प्रधानमन्त्री ओली ? यो त नेकपाको दाहाल–नेपाल पक्षलाई म त डुबेँ–डुबेँ तिमीहरूलाई पनि साथै डुबाउँछु भन्ने भस्मासुर सोचभन्दा बाहेक अरू के हुन सक्छ ?

इतिहासले पस्केको यो कठोर सत्यलाई बेवास्ता गर्दै कुन ‘खयाली पुलाउ’ पकाउँदै छन् प्रधानमन्त्री ओली ? यो त नेकपाको दाहाल–नेपाल पक्षलाई म त डुबेँ–डुबेँ तिमीहरूलाई पनि साथै डुबाउँछु भन्ने भस्मासुर सोचभन्दा बाहेक अरू के हुन सक्छ ?

अन्त्यमा निर्वाचन भए आहा र प्रधानमन्त्रीको विघटन बदर भए छ्या भन्ने जुन संकथन बनाउन खोजिँदै छ, त्यसको पनि चिरफार हुनु जरुरी छ । हाम्रो संविधानमा, जुन मिश्रित निर्वाचन पद्धति अवलम्बन भएको छ, त्यसले सामान्य अवस्थामा दिने भनेकै खण्डित जनादेश हो । त्यस्तो वेला राजनीतिक दलहरूले गर्न जान्नुपर्ने भनेकै निर्वाचनपछिको गठबन्धन निर्माण र त्यसको स्थायित्वको सुनिश्चितता हो ।

अतः संसद ब्युँते पनि र निर्वाचन भए पनि अब बन्ने भनेको गठबन्धन सरकार नै हो । तीन वर्षअघि कम्युनिस्ट गठबन्धनले निर्वाचनमा पाएको सफलता न भुतो न भविष्यतिकै थियो, तर कामरेड ओलीलाई बहुमत पचेन र यो अवस्था आयो । संविधानको धारा १०० मा गरिएको व्यवस्थाको मनन गर्दा के थाहा हुन्छ भने नेपालमा आगामी केही वर्ष दुई–दुईवर्षे वा बढीमा तीनवर्षे सरकारको अभ्यासले निरन्तरता पाउने अवस्था देखिन्छ । एक वाक्यमा भन्नुपर्दा संसद् ब्युँतिए पनि वा निर्वाचन भए पनि राजनीतिक परिदृश्यमा गठबन्धनकै नियति व्यहोर्नुपर्ने देखिन्छ ।

हो, संसद् ब्युँतिए संविधानको जगेर्ना हुन्छ भने अदालतले निर्वाचनको बाटो खोले संविधान संशोधन हुन पुग्छ र अहिलेकै जस्तो सत्ताको मद्दतले चुर शासकको हात पर्‍यो भने मुलुकका सामु संविधानले परिकल्पना नै नगरेका अनेकौँ अनिष्ट आइपर्नेछन् । याद गरौँ, आगामी दिनहरूमा आइपर्न सक्ने यस्तै अनिष्टलाई रोक्ने उद्देश्यले चार पूर्वप्रधान न्यायाधीशहरूले विघटन असंवैधानिक हो भन्नेमा दृढ छौँ, मौन बस्दैनौँ भनेका हुन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार