असार २५, २०८२ बुधबार July 9, 2025

वैवाहिक अर्थ राजनीति र मधेस – रामरिझन यादव

रामरिझन यादव
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालीय हिन्दुवादी समाजमा वैवाहिक मौसम छ। प्राकृतिक वातावरणका कारणले मात्र होइन; हिन्दुशास्त्रमा उल्लिखित साइत (लगन) को दृष्टिले पनि फागुन महिना उत्तम अवसरका रूपमा सदुपयोग गर्ने गरिन्छ। त्यसैले मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका भूभागमा वैवाहिक उत्सवले उद्यम (विवाह व्यापारजस्तै) मच्चाएको देखिन्छ। यस्तो कुनै महानगर, नगर, गाउँ तथा टोल छैन; जो वैवाहिक समारोहको रङमा नरंगिएको होस्। कूल जनसंख्याको ८१.३ प्रतिशत हिस्सा रहेको हिन्दुका कारण मुलुक नै विवाहमय बनेको छ। तर यस आलेखको परिधि तराई–मधेसको भूगोल मात्र भएकाले पहाडभन्दा समतल भूभागमा सम्पन्न हुने विवाहको अर्थराजनीतिलाई शल्यक्रिया गर्ने प्रयास गरेको छु।

केही दशक पहिलेसम्म तराई–मधेसमा वैवाहिक अनुष्ठान मर्यादित थियो। संस्थाका रूपमा उच्चतम् मान्यता पाएको विवाहलाई एउटा पवित्र बन्धनका रूपमा लिइन्थ्यो। कतिसम्म भने जन्ती गएकाहरूलाई देउतासरह मानिन्थ्यो। उनीहरूद्वारा कतिपय अवाञ्छनीय कार्य पनि क्षम्य थियो। सयौंको संख्यामा गएका जन्ती र बेहुली पक्षबीच सामान्यतः लडाइँ–झगडा भए पनि त्यसलाई साँस्कृतिक विरासतका रूपमा बुझ्ने चलन थियो। अर्थात् जतिबेला भावको सम्मिश्रणले उच्चता ग्रहण गर्छ त्यतिबेला भावनात्मक एकताबाट प्रेमको प्रस्फुटन हुन्छ; जो स्पष्ट रूपमा वैवाहिक समारोहमा दृष्टिगोचर हुन्थ्यो।

हिन्दु मान्यताअनुसार एकपटकको बिहेले सिंगो जीवन प्रणालीलाई प्रभावित पार्ने हुनाले नै होला हिन्दु समाज पश्चिमाभन्दा नितान्त भिन्न थियो र अद्यावधि छ पनि। तर केही दशकयता नेपालको तराई–मधेसमा गराइने यो पवित्र परिणयोत्सव बन्धनमा ग्रहण लाग्न थालेको छ। फलस्वरूप वैवाहिक अनुष्ठान भावनात्मक एकताभन्दा मौद्रिक विनिमय दरका आधारमा निर्धारण हुन थालेकाले सामाजिक सद्भाव विखण्डित हुन पुगेको देखिन्छ। मेचीदेखि महाकालीसम्मका तराई–मधेसको भूगोलमा बसोवास गर्ने सबैभन्दा उच्च सम्भ्रान्त र शिक्षित जातिमा नै यस प्रकारको विकृत दृष्टिकोण पलाएकाले अशिक्षित, अचेत तथा गरिब तपका समेत नराम्ररी दुष्प्रभावित भएका छन्।

सिरहा नगरपालिका– १९ बस्ने रासलाल रामजस्तो सुकुम्वासी दलितले पनि छोरीको बिहेमा २०० सीसीको पल्सर मोटरसाइकल दाइजो दिनुपर्दाको अवस्थालाई व्याख्या र विश्लेषण गर्ने हो भने तराई–मधेसको वैवाहिक अनुष्ठान कति महँगो, खर्चिलो र अस्वाभाविक हुन गएको प्रस्टरूपमा देखिन्छ। यति मात्र होइन; स्वर्ण र सम्भ्रान्त कहलिएका यादव जातिका एउटा कन्या विदेशबाट चिकित्सा विज्ञानमा एमबीबीएसको डिग्री हासिल गरिसकेपछि पनि दाइजो नदिई बिहे हुँदैन भने त्यस्तो प्रकारको जात र समाजको अवस्थालाई कसरी चित्रण गर्ने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।

के हो हिन्दु विवाह ?

हिन्दु सामाजिक व्यवस्थामा वैवाहिक अनुबन्ध धर्मसँग गाँसिएको छ। सनातन धर्मावलम्बी त हिन्दु विवाहलाई संसारकै उत्तम विवाह मान्छन्। यस्तो दाबी गर्नुको मूलतः तीनवटा करण छन्। पहिलो, हिन्दु विवाहको उद्देश्य आध्यात्मिक हो। विवाहपछि नर र नारीको फरक अस्तित्व हुँदैन किनकि उनीहरू एकअर्कामा समाहित भइसकेका हुन्छन्। बाँकी जीवन एकअर्काका लागि तथा परिवारको सुखका लागि व्यतीत गर्छन्। त्यसैले प्रारम्भिक हिन्दु मान्यतामा पारपाचुकेको अवस्था थिएन।

तराई–मधेसमा छोरा जन्माएका भरमै लखपति तथा करोडपति हुने चलन छ। यस प्रकारको सोचले स्थायित्व प्राप्त गरिसकेका कारण छोरा मात्र जन्माउने तराई–मधेस समाजमा भ्रूणहत्या अकासिँदो छ।

दोस्रो, हिन्दु पारिवारिक संरचनामा पत्नीको निजत्वलाई उच्चता प्रदान गर्ने हुनाले व्यक्तिगत सन्तुष्टि र सांसारिक आनन्दका लागि मात्र वैवाहिक अनुष्ठान सम्पन्न गरिँदैन। मूलतः धार्मिक र सामाजिक भूमिका निर्वाह गर्न दाम्पत्यमा प्रवेश गर्छन् र नारीप्रति गहिरो श्रद्धाभाव राख्छन्। तेस्रो, दाम्पत्य बन्धनले पत्नीलाई उच्चता प्रदान गर्ने हुनाले नारीको अभावमा नरलाई अपूर्ण मानिन्छ। त्यसैले अग्निको फेरोसँगै कुमार र कन्या पतिपत्नीमा रूपान्तरण हुन्छन्; जहाँ नारीले पुरुषको अस्तित्वलाई पूर्णता दिएको हुन्छ। अर्थात् जीवनरूपी एउटा गाडीका दुइटा पांग्रा एउटा नारी अर्को पुरुष एकअर्काको अभावमा गुड्ने सम्भावना रत्तिभर रहँदैन भन्ने सोचको वकालत गरेको देखिन्छ।

भेदजन्य व्यवहार
सनातन धर्मका आधारमा गरिएको व्याख्याको ठीक विपरीत हिन्दु धर्मावलम्बी समाजमा नारीप्रति गरिएको व्यवहारले आज सिंगो समाज प्रताडित हुन पुगेको छ। यसको मूल कारण के हो ? किन गर्भमै रहँदा छोरीप्रति असहिष्णु व्यवहार गरिन्छ ? जन्मिदा एकातिर बुवाआमाको मुख अँंध्यारो हुन्छ भने अर्कातर्फ समाजले पनि त्यसलाई सहज रूपमा लिँदैन। गर्भमा रहेका छोरालाई एबोर्सन गराएको समाचार आजसम्म नसुनेको अवस्थामा दिनहुँ हजारौं छोरीहरूको भ्रूणहत्याको पापबाट हिन्दु समाज उम्किन पाउँछ ? कदापि होइन। यस प्रकारको भ्रूणहत्याको छेकबार लगाउने कानुनको प्रभावकारिता गौण भएको अवस्थामा तराई–मधेसको वैवाहिक अर्थराजनीतिले पराकाष्ठा छोएको छ।

यसको मूल जरो खोजतलास गर्ने हो भने फेरि पनि हिन्दु धर्मका मोटामोटा ग्रन्थमा भेटिन्छ; जहाँ एकातिर नारीको महिमामण्डन गर्दै दुर्गा, लक्ष्मी, सरस्वती र सीताहरूको अतिशयोक्त वर्णन पाइन्छ भने अर्कातर्फ भनिएको छ, ‘ढोल गवार शूद्र पशु नारी, ये सब है ताजन के अधिकारी।’ तुलसीदासले आफ्नो युगान्तकारी महाकाव्य रामचरितमानसमा यो कुरा जुनसुकै सन्दर्भमा भनिएको होस् तर अहिले पनि हिन्दु धर्मावलम्बीले उनले भनेका कुरालाई अकाट्य रूपमा व्यवहार गरेकाले तराई–मधेसमा महिलाको अवस्था दास प्रथाभन्दा थोरै मात्र भिन्न छ। धेरै फरक छैन। यस अर्थमा मिथिला मधेस सबैभन्दा बढी प्रताडित छ। जहाँ एकदुइटा र तीनवटा मात्र होइन महिला सन्दर्भमा कैयौं यस्ता समस्या छन्; जसले सीतालाई पनि बद्नाम गर्छन्। जनकपुरको गरिमाको उपहास गर्छन् र सिंगो प्रदेश २ को अर्थराजनीतिलाई प्रभावित पारेको देखिन्छ।

विवाहको अर्थराजनीति
सामान्यतः हिन्दु मान्यताअनुसार विवाह दुई आत्माको मिलन भएको स्वीकार गरिएको छ। तर विवाहजस्तो पवित्र बन्धनमा अनाहक आर्थिक सोचले त्यसलाई विकृत दिशातर्फ उन्मुख गराउँछ भन्ने सैद्धान्तिक तथा वैचारिक रूपमा जति फलाके पनि तराई–मधेसमा अचेल विवाहको अर्को नाम अर्थराजनीति हुन गएको छ। पुरानो जमानाको आदर्शमय पाणिग्रहणको प्रश्न सर्वथा गौण भइसकेको समाजमा मुद्रा विनिमयले यसरी वर्चस्व स्थापित गरेको छ कि मिथिला मधेसमा ९९.९ प्रतिशत विवाह आर्थिक लेनदेनका आधारमा मात्र सम्पन्न हुन्छन्।

यस प्रकारको कहालिलाग्दो अवस्थाको सबैभन्दा जिम्मेवार पक्ष शिक्षित समुदाय हुन्; जसको नैतिक धरातल दुर्वल भइसकेकाले आफ्नो क्षुद्र स्वार्थपूर्तिका लागि मानवीय मूल्य र मान्यतालाई तिलाञ्जली दिइरहेका छन्। त्यसैले आदर्शवादी सोचका आधारमा हुने विवाह इतिहासको विषयवस्तु भइसकेको छ। ग्रन्थमा लिपिबद्ध यस्ता उपदेशलाई रकमी समाजले उपहासको दृष्टिले हेर्छन्। जसले आदर्शवादी विवाह गर्ने साहस गर्छन्; त्यसलाई प्रशंसाभन्दा प्रताडित हुनुपरेको छ। घरपरिवारले नै साथ दिँदैनन्। अर्थात् दाइजोजस्तो निकृष्ट संस्कृतिको विकासले समाजलाई दिनानुदिन अपाहिज बनाउँदै लगिरहेको छ।

वैवाहिक अनुष्ठान भावनात्मकभन्दा मौद्रिक विनिमय दरका आधारमा निर्धारण हुँदा सामाजिक सद्भाव विखण्डित छ ।

समाज कतिसम्म तल झरिसकेको छ भने जसलाई जति मोटो रकम दाइजोमा दिइन्छ त्यसको त्यत्तिकै प्रशंसा गरिन्छ। आकाशे गुणगान गरिन्छ। त्यो गुणगानमा कति चेलीबेटी भेटी चढिसकेकी छन् र कति परिवार आर्थिक रूपले कंगाल भइसकेका छन् भन्ने कुराको संवेदनशीलता अलिकति पनि छैन। उदेकलाग्दो कुरा के छ भने दिनहुँ दाइजोका कारण महिला हिंसाले समाजलाई रक्ताम्य पारेको अवस्थामा तराई–मधेसका ठूलाबडा नेताहरू त्यस प्रकारका बिहेमा शानका साथ जन्ती जान्छन्; भोजभतेरमा रमाउँछन् र आफ्नो छोराको बिहेमा पनि दाइजो लिन छाड्दैनन्। हजारौंहजारको जन्तीको हुल, दर्जनौं गाडीको लर्को र भोजमा लाखौंलाखको खर्चले शानको प्रदर्शनमा आफ्नो बडप्पन ठान्छन्। साँचो कुरा त के हो भने त्यसलाई चुनाव जित्ने बहाना बनाउँछन्। त्यसैले हिन्दीको एउटा भनाइ छ, ‘चोर चोर मौसेरे भाइ’ ठ्याक्कै नेताहरूको चरित्रलाई चरित्रार्थ गर्छ।

यसरी राजनीतिले पनि यस प्रकारको जघन्य अपराधी सोचलाई प्रश्रय दिइरहेकाले दाइजोको व्यापार लाखौंमा मात्र होइन; करोडौंमा हुने गरेको छ। योभन्दा ठूलो व्यापार तराई–मधेसमा अर्को छैन। भारतीय फिल्म दुनियाँका अभिनेता अमिताभ बच्चनद्वारा सञ्चालित कौन बनेगा करोडपतिमा जानकारी र ज्ञानका आधारमा प्रतिस्पर्धीहरू लाखपति र करोडपति हुन्छन् तर हाम्रो तराई–मधेसमा छोरा जन्माएका भरमै लाखपति तथा करोडपति हुने चलन छ। यस प्रकारको सोचले स्थायित्व प्राप्त गरिसकेको कारणबाट छोरा मात्र जन्माउने तराई–मधेस समाजमा भ्रूणहत्या अकासिँदो छ। यसले गर्दा कतिपय जातमा छोरीको संख्या न्यून हुन गएको छ। त्यसैले बेहुली पाउन गाह्रो भएको छ।

माडवाडी समुदायमा यस प्रकारको प्रतिकूल परिस्थिति सिर्जना भएकाले छोरावालाहरूले नै प्रचुर खर्च गर्नुपर्ने बाध्यता आइपरेको छ। नेपालमा माडवाडी जातको जनसंख्या न्यून भएकाले छोरीको महता स्थापित हुन सकेको देखिन्न। माडवाडी समाजका महिला पनि चुलोचौकामै सीमित छन्। त्योभन्दा माथि उम्किन सकेका छैनन्। तर चेलीबेटीको संख्या न्यून हुन थालेपछि एउटा सकारात्मक पक्षको पटाक्षेप भने अवश्य भएको छ। त्यो के हो भने माडवाडी समाजका युवा अन्तरजातीय विवाहतर्फ आकर्षित भएको देखिन्छ। सिरहाका सञ्जीव अग्रवाल र विकास अग्रवाल तथा लहानका सौरभ अग्रवालले अन्तरजातीय मागी बिहे गरेकाले पनि के स्पष्ट हुन्छ भने माडवाडी समाजमा दिनानुदिन कन्याको संख्या कम हुँदै गइरहेको छ।

आर्थिक रूपले तराई–मधेसको सबैभन्दा समृद्ध जात भएकाले पहिल्यैदेखि नै विवाहोत्सवमा यस जातभित्र प्रचुर खर्च गर्ने चलन थियो। यस जातभित्रको वैवाहिक अर्थराजनीतिले कतिसम्म गाँजेको देखिन्छ भने विवाहको कार्डमा समेत बेहुला र बेहुलीभन्दा घरपरिवारको आर्थिक स्वामित्वमा सञ्चालित ठूलाठूला उद्योगधन्दाको नाम अगाडि राखिन्छ। लाग्छ, केटा र केटीभन्दा कुनै उद्योगधन्दाको विवाह भइरहेको छ कि ! यस प्रकारको सोच झन्डै सन्को अठारौं शताब्दीसम्म पनि पाणिग्रहण संस्कारलाई व्यक्तिको साटो दुई परिवार एकाकार भएको समारोहका रूपमा अथ्र्याउने चलन युरोपेली समाजमा व्याप्त थियो। अर्थात् उत्पादनको साधनमाथि परिवारको वर्चस्व रहने हुनाले स्वाभाविक रूपमा व्यक्ति प्रधानता गौण हुन गएको देखिन्छ।

अर्थशास्त्रका अध्येताअनुसार व्यवस्थित र स्थिर समाजमा दुलाहा वा दुलही परिवाररूपी एउटा उत्पादन एकाइबाट अर्कोमा सर्नु भनेको उपयोगी परिसम्पत्ति (प्रोडक्टिभ एसेट) स्थानान्तरण हुनु हो। प्रजननमा नारी र सम्पत्तिमा नरको अधिकार स्थापित हुँदै गएपछि विवाहपश्चात् महिलाले पुरुषको परिवारमा जाने बाध्यता सिर्जना भयो। प्रारम्भमा यस प्रकारको स्थानान्तरण समझदारी र सौजन्यमय नै थियो तर कालान्तरले पुरुषप्रधान समाजले सम्पूर्ण आर्थिक कारोबार आफ्नो हातमा लिएपछि नरभन्दा नारी दुर्वल भएकी हुन्। त्यसैले दाइजो प्रथालाई उन्मूलन गर्नु छ भने सम्पत्तिमा छोरा र छोरीको सामान हकको प्रश्नले मुलुकलाई त्यत्तिकै तताएको होइन।

अन्त्यमा, जातिप्रथाको निरन्तरता सम्भवतः दहेजरूपी विकृति कायम रहनुको मूल दोषी हो। तराई–मधेसको समाजभित्र जुन जातभित्र यस प्रकारको कट्टरता जति छ, त्यही अनुपातमा दाइजो प्रथा मौलाएको पाइन्छ र यसको अर्थराजनीतिले सिंगो समाज दुष्प्रभावित बनेको हेक्का सबैलाई हुनुपर्छ। अन्नपूर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया