असार २६, २०८२ बिहिबार July 10, 2025

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।

प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ ।

विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।” स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् ।

पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् ।

गत हप्ता पनि उक्त समूहले यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेका थिए । गत डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उहाँ त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका करिब ३०० किशोरहरूलाई अपहरण गरेका थिए ।

दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विदार्थीहरूलाई छोडिएको थियो । पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया