काठमाडौंः नेपालको आफ्नै भू–उपग्रह (स्याटलाइट) राख्न आवश्यक अध्ययनका लागि विभिन्न मुलुकका पाँच कम्पनी छनौट (सर्टलिस्ट) मा परेका छन् ।
स्याटलाइटको अध्ययन गर्न नौ कम्पनीले आशय पत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनौट गरेको हो ।
प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।
प्राधिकरणले गरेको माग अनुसार आशय पत्र बुझाएका कम्पनी मध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । छनोटमा परेका कम्पनीमा फ्रान्स, दुबई, अमेरिका, बेलायत र भारतका रहेका छन् ।
छनौटमा परेका कम्पनीमध्ये चालिस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशय पत्रमा १२ देशका २२ कम्पनीले स्याटलाइट राख्न रुचि देखाएका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया