असार २२, २०८२ आइतबार July 6, 2025

एमाले फुटाउने खेल हो : भीम रावल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले एउटा निर्णय गर्‍यो, लगत्तै तपाईंहरू पनि बस्नुभयो । तपाईंहरूले चाहिँ के निर्णय गर्नुभयो ?

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र त विभाजित भए नै । हामी नेकपा एमालेलाई एकताबद्ध बनाएर राष्ट्रको हितमा अगाडि बढाऔं भनेर लागेका थियौं । तर ओलीजीले बालुवाटारमा गुटको भेला गरेर एमालेको विधानविपरीत, कानुनी राज्य र लोकतान्त्रिक मान्यताविपरीत स्वेच्छाचारी किसिमले कसैलाई हटाउने, कसैलाई राख्ने हुकमीतन्त्रमा काम गरेपछि हामीले त्यसबारे समीक्षा गर्‍यौं । त्यसका विभिन्न पाटामा छलफल गर्‍यौं ।

गत वैशाखदेखि पार्टी फुटाउने, प्रतिनिधिसभा विघटन गर्ने, कसैलाई जानकारी नदिई प्रतिनिधिसभाको बैठक बन्द गर्ने, स्थायी कमिटीको निर्णय अबज्ञा गर्ने, विदेशी गुप्तचर प्रमुखसँग बालुवाटारमा लामा–लामा बैठक गर्ने जस्ता कुराले उहाँले नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलन र हाम्रो संविधानमाथि प्रहार गर्ने उहाँको सुनियोजित क्रियाकलाप छ, यसलाई त्यसैको अंगका रूपमा बुझेका छौं ।
यसलाई हामी अस्वीकार गर्छौं, निन्दा गर्छौं र एमालेको सम्पूर्ण पंक्तिलाई स्वेच्छाचारी, पार्टीको विधान, सिद्धान्तको प्रतिकूल गरिएको कामविरुद्ध आवाज उठाउन आह्वान गर्छौं । ठोस कार्ययोजनाका साथ हामी पनि अगाडि बढ्छौं । उहाँको निरंकुश र निर्लज्ज काम एमालेको एउटा पक्षमाथिको मात्रै प्रहार होइन, सिंगो लोकतन्त्रमाथि प्रहार हो । यो कम्युनिस्ट आन्दोलनमाथिको प्रहार हो । यो मुलुकको स्वाधीनता र स्वतन्त्रतालाई कुण्ठित बनाउने खेल हो भन्ने हाम्रो ठहर छ ।
तपाईंहरूले शनिबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ, राष्ट्रिय भेला पनि बोलाउनुभएको छ । समानान्तर रूपमा कमिटी अगाडि बढाउन खोज्नुभएको हो ?

उहाँको त्यो गुट हो । कैयौं समूहमा चालिएर अवसरका लागि गएका मान्छे, जसले एमाले निर्माणमा सिन्को भाँचेका छैनन्, तिनीहरूले हामीलाई स्वागत गर्ने रे ! हामी त एमाले पार्टी हौं । यसको रक्षा गर्न हामी चाहन्छौं । केपी ओलीले जहाँ–जहाँ समस्या खडा र पार्टीविरुद्ध गुटबन्दी गर्नुहुन्छ, त्यहाँ–त्यहाँ हामी आवश्यक पर्‍यो भने समानान्तर कमिटी बनाएर भए पनि यो आन्दोलन बचाउन र उहाँका निरंकुश क्रियाकलापलाई रोक्न प्रयास गर्छौं ।

निर्वाचित पदाधिकारीलाई हटाइएको छैन, जिम्मेवारी त आवश्यकताअनुसार हेरफेर गर्न सकिन्छ नि हैन र ?

यो तर्क नै मूर्खतापूर्ण छ । निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसेर जनतालाई ढाँट्ने, कार्यकर्तालाई छक्याउने काम मात्रै हो । कार्यविभाजन हेरफेर गर्नलाई त बैठक चाहिन्छ ।

हामी त महाधिवेशनबाट निर्वाचित हौं । म महाधिवेशनबाट निर्वाचित होइन ? मलाई हटाएर त्यहाँ केही पनि काम नगरेकालाई ल्याएर इन्चार्ज बनाउने ? योभन्दा निर्लज्ज, स्वेच्छाचारी के हुन्छ ? हिजोका शासकले पनि बरु कानुन मनपरि बनाउँथे तर बनाएको कानुन कार्यान्वयन गर्थे । महाधिवेशनबाट पारित विधानलाई मिचेर निर्लज्जतापूर्वक काम गरिएको छ अनि हेरफेर गर्‍यौं भन्नु हास्यास्पद कुरा हो ।

उहाँहरूले तपाईंहरूलाई औपचारिक रूपमा बैठकमा बोलाउनुभएको छ नि त ?

त्यही बैठकबाटै कसैले त्यस्तो भनेको छ भने त्यो मूर्खतापूर्ण कुरा हो । गुटको बैठक बसेर केपी ओलीको वरिपरिका मान्छेलाई राखेर, पार्टीको विधान मिचेर एमालेविरुद्ध हिजो काम गरेका र यो पार्टीका लागि सिन्को नभाँचेर पदका लागि गएका केही मान्छेलाई राखेर हामीलाई पार्टीका पदहरूबाट निष्कासन गर्ने अनि मनपरिसित महाधिवेशन गर्छु भन्ने ? यो आह्वान होइन, दुई ठूला कम्युनिस्ट पार्टीलाई अलग गरिसकेपछि एमालेलाई पनि फुटाएर देशीविदेशी प्रतिक्रियावादीको इच्छा पूरा गर्ने खेल हो ।

पार्टीको आन्तरिक कुरा नै होला नि ? जहाँ पनि देशीविदेशी प्रतिक्रियावादी जोड्न मिल्छ र ?

यो थाहा पाउन गत वैशाखदेखिकै सिलसिला हेर्नुपर्ने हुन्छ । त्यतिखेर उहाँले दल विभाजन गर्ने षड्यन्त्र गर्नुभयो । त्यसपछि उहाँले बालुवाटारमा सामन्त गोयलसँग गोप्य भेट गर्नुभयो । प्रधानमन्त्रीले एमसीसी सम्झौता जसरी पनि पास गर्छु भनेर देशमा उपनिवेशीकरण गराउन खोज्नुभएको छ, त्यो त्यसै होइन । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा निकालिसकेपछि त्यो पारित गर्ने प्रतिनिधिसभालाई नै उहाँले भंग गरिदिनुभयो ।

नागरिकता विधेयक राज्यव्यस्था समितिले पारित गरेर पेस गरेकै बेला उहाँले प्रतिनिधिसभा भंग गरिदिनुभयो । सँगसँगै गएको भदौ २६ मा पार्टी बचाउनका लागि हामीले उहाँलाई पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस् भनेका थियौं । त्यसलाई पनि नमानेर पार्टी नफुटाई नहुने अवस्थामा पुग्नुभयो, यो सबै कुरालाई जोडेर हेर्नुपर्छ । त्यसैले के प्रस्ट हुन्छ भने केपी ओलीले योजनाबद्ध ढंगले साँठगाँठ गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने र मुलुकलाई कमजोर बनाउने षड्यन्त्रको अंग बनेर काम गर्नुभएको छ ।

अब निकास के त ? उहाँहरूले पनि तपाईंहरूसहितको बैठक ७ गतेका लागि बोलाउनुभएको छ नि ?

विधान मिचेर उहाँहरूले आज नेपालको कम्युनिस्ट आन्दोलनविरुद्धमा वितण्डा मच्चाउनुभएको छ । दुई ठूला कम्युनिस्ट पार्टीलाई अलग गरेर नपुगेपछि एमाले एक भएर कतै बलियो पो भइहाल्छ कि भनेर गरिएको यो षड्यन्त्रमूलक काम हो । यस्तो

षड्यन्त्रमूलक काम गर्ने व्यक्तिले जहाँ–जहाँ बोलायो, त्यहीं–त्यहीं हो–हो भन्दै सजिलै जाने कुरा भएन । त्यसैले हामी केन्द्रीय कमिटीका साथी र अरूसँग परामर्श गर्छौं । त्यसपछि जे निष्कर्ष निस्किन्छ । त्यही निर्णय गर्छौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार