काठमाण्डौंः राजपुर गाउँपालिकाका-६ का वडाध्यक्ष पहिलो चरणको कोरोनाविरुद्ध खोपमा सहभागी भएनन्। कोरोना खोपका विषयमा जनस्तरमा आएका विषयमा उनी कोरोना खोप लगाउन पन्छिएका हुन्। ‘खोप लगाउँदा असरहरू देखिन्छ, शारीरिक समस्या हुन्छ भन्ने सुनेर मैले अहिले खोप लगाइनँ’, उनले भने।
तुलसीपुर उपमहानगरपालिकाका-५ जना वडाध्यक्षसहितका जनप्रतिनिधिले पनि कोरोनाविरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियानमा सहभागिता जनाएनन्। तुलसीपुर–४ का अध्यक्ष बालकृष्ण रानाले पहिलो चरणमा कोरोनाविरुद्धको खोप नलगाएको बताए। ‘खोपप्रतिको अविश्वासका साथै कामको चापले पहिले खोप लगाउन पाइएन’, उनले भने, ‘अब चाहिँ लगाउने सोच बनाएको छु।’ तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम ढकालले पहिलो चरणमा नलगाए पनि अबको चरणमा भने खोप लगाउने बताए। उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाले पटकपटक आग्रह गर्दा पनि जनप्रतिनिधिले खोप लगाउन आलटाल गरेका कोरोना फोकल पर्सन विमल केसीले बताए।
शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाह पनि कोरोना खोप अभियानमा सहभागी भइनन्। गाउँपालिका जनप्रतिनिधि र कर्मचारी खोप अभियानमा सहभागी भए पनि उपाध्यक्षसहितका केही जनप्रतिनिधि खोप अभियानमा सहभागी भएनन्।
दाङका १०वटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए। दाङमा २ सय ४५ जना जनप्रतिनिधिले मात्र खोप लगाएका छन्। अन्नपूर्णपोष्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया