असार २८, २०८२ शनिबार July 12, 2025

गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् ।

यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ जना प्रतिस्पर्धी छन् । एन्गुसोका मुख्य प्रतिस्पर्धी ठानिएका गुए–ब्राइस पार्फेट कोलेलास गम्भीर स्वास्थ्य समस्या देखाउँदै चुनावी मैदानबाट अलग हुनु भएको छ ।

पूर्व सैनिक एन्गुसो सन् १९७९ मा पहिलो पटक सत्तामा आउनु भएको थियो, र त्यसयता ३६ वर्ष कङ्गोको शासनमा हुनुहुन्छ । उहाँ विश्वमै सबैभन्दा लामो समय शासन गर्ने एक नेता बन्नु भएको छ ।

मध्य अफ्रिकाको तेल निर्यातक मुलुक कङ्गोको चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रनु भएका एन्गुसोले पहिलो चरणमै आफू विजयी हुने अपेक्षा गर्नु भएको छ । कङ्गोको संविधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा दोस्रो चरणको मतदान हुने व्यवस्था छ ।

यसैबीच, एन्गुसोलाई चुनौती दिने ठानिएका मुख्य प्रतिस्पर्धी कोलेलासले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै आफू गम्भीर बिरामी भएको र “जीवन र मृत्युको दोसांधमा पुगेको” बताउनु भएको छ ।

कोलेलासको चुनावी अभियानले ६० वर्षीय आफ्ना नेतामा के रोग लागेको छ भन्ने केही बताएको छैन । उनीहरुको भनाईमा थप उपचारका लागि नेता कोलेलासलाई विदेश लैजाने तयारी गरिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा दोस्रो स्थान हासिल गर्नु भएका कोलेलासले यसपटक राम्रै नतिजा हासिल गर्ने अनुमान गरिएको थियो ।

कङ्गोको क्याथोलिक चर्चले यसपटक पनि राष्ट्रपतिको चुनावमा धाँधली हुन खतरा देखिएको भन्दै आपत्ति जनाएको छ । सन् २०१६ झैं आइतबारको चुनावअघि देशव्यापी इन्टरनेट बन्द गर्न लागिएको र मतदानको पारदर्शिता शंकास्पद रहेको चर्चको भनाई छ ।

सबैभन्दा ठूलो विपक्षी समूह प्यान–अफ्रिकन युनियन फर सोसल डेमोक्रेसी ९युप्याड०ले पनि चुनाव बहिस्कार गरेको छ । पूर्व राष्ट्रपति पास्कल लिस्सोबाले खोल्नु भएको युप्याडबाट राष्ट्रिय सभामा मुख्य विपक्षीको रुपमा प्रतिनिधित्व रहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र ग्याबोनले घेरिएको यस पूर्व फ्रान्सेली उपनिवेशको मुख्य आम्दानीको स्रोत खनिज तेल हो ।

सन् १९७९ मा पहिलो पटक सत्तामा आउनु भएको एन्गुसो सन् १९९१ मा बहुदलीय प्रतिस्पर्धाका लागि राजी हुनु भएको थियो । अर्को वर्ष भएको चुनावमा उहाँ र उहाँको पार्टी पराजित भएको थियो ।

गृहयुद्धमा फँसेको कङ्गोमा सन् १९९७ मा उहाँ पुनः सत्तामा आउनु भएको थियो । त्यसयता उहाँ लगातार विजयी हुँदै आउनु भएको छ ।

सन् २०१५ मा भएको संविधान संशोधनले ७० वर्षभन्दा माथिका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने र दुई वर्ष कार्यकाल पनि हटाएपछि एन्गुसो पुनः उम्मेदवार हुनु भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार