काठमाण्डौः विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका प्रायः सबै सांसद उपस्थित थिए । वरिष्ठ नेता नेपाल र अर्का नेता भीम रावलबाहेक अन्य सबै सांसद संसदीय दलको बैठकमा सहभागी भएर आफ्नो कुरा राखेका थिए । यसअघि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गर्दै आइरहेका नेपाल खनाल समूहका प्रायःजसो सबै सांसद बैठकमा सहभागी भएपछि एमाले विभाजनको सम्भावना टरेको हो ।
यसअघि शुक्रबार बसेको असन्तुष्ट पक्षको अनौपचारिक बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो । सो निर्णय गर्दै असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाएको थियो । तर, वरिष्ट नेता नेपाल र अर्का नेता भीम रावल भने बैठकमा अनुपस्थित भएका थिए ।
फरकफरक समूह बनाएर छुटाछुट्टै बैठक गरिरहेका दुवै समूह एउटै बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने परम्पराका विकास गरेपछि पार्टी फुटबाट जोगिएको कार्यकर्ताको विश्लेषण छ । यसलाई आम कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन् ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र अर्का नेता डा. भीम रावललाई कारबाही हुन सक्ने बताए । नेपाल र रावलबाट बिहीबार स्पष्टीकरण आएको बताउँदै ओलीले स्पष्टीकरण कारबाहीयोग्य रहेको बताएका हु्न् । उनीहरूले बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नै आरोप लगाउँदै जवाफ पेस गरेका थिए ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै दुई नेताको स्पष्टीकरण कारबाहीयोग्य रहेको बताए । दुबै जना नेताको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताउँदै उनले सोबारे अगामी केन्द्रीय कमिटीको बैठकबाट निर्णय हुने जनाए ।
बैठकमा सहभागि वरिष्ठ नेता झलनाथ खनालसहित नेताहरू घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले २८ फागुनको निर्णय फिर्ता हुनुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले २८ फागुनको निर्णय फिर्ता नहुने स्पष्ट पारे । राजधानी दैनिक
प्रतिक्रिया