असार २४, २०८२ मंगलबार July 8, 2025

अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ ।

कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकडघगणितको जोटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन् । तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको थियो ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । उनले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरेका हुन् । सो भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरे ।

‘अलोकतान्त्रिक कदम चाल्ने नेतृत्वलाई साथ दिने कि विकल्प खोज्ने भन्ने नेता पौडेलको प्रश्न थियो, उहाँले लोकतन्त्रको रक्षाका लागि पनि एक हुनुपर्नेमा ठाकुरसँग आग्रह गर्नुभयो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राजधानीसँग भने ।

पौडेलले सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रूपमा समाधान खोज्दै अघि बढ्नसमेत नेता ठाकुरलाई प्रस्ताव गरेका छन् । पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ । त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने वातावरण भने बन्नैपर्छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत नयाँ सरकार गठनका लागि संसद्मा संख्या सुनिश्चितता गर्नु कांग्रेसका लागि पहिलो आवश्यकता रहेको बताउँछन् । ‘नयाँ सरकार गठनका लागि संसद्मा संख्या सुनिश्चितता गर्नुपर्छ, संख्या सुनिश्चित भएपछि सरकार गठन गर्न सकिन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।  राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार