काठमाण्डौंः जिल्ला अदालत काठमाडौंले लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोरालाई जेल चलान गर्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाल र पौडेल दुवैलाई बिहिबार एक–एक वर्ष कैद र १० हजार जरिवाना कैद फैसला सुनाएको हो ।
२०७६ साल साउन २३ गते काठमाडौंको बौद्धमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासँग सोही गाउँपालिका वडा नम्बर ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले दुई करोड रुपैयाँ चन्दा माग गरेका थिए । पालिकाका अध्यक्ष खड्कासँग चन्दा रकम माग गर्न मुख्य नाइकेका रूपमा सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराले लोप्साङ लामा र अमृत तामाङलाई प्रयोग गरेका थिए ।
उनीहरूले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरूलाई समेत मार्नेसम्मको धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुत प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो । उनीहरू दुवैजना नेकपा एमालेबाट निर्वाचित पदाधिकारी हुन् ।
सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखु तामाकाेसी गाउँपालिका वडा नम्बर ७ का (मिलन) भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया