असार २५, २०८२ बुधबार July 9, 2025

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन । नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो ।

पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ । वै​शाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन ।

वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ ।

बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । तर, त्यसअनुसार सावधानी अपनाइएको छैन । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया