काठमाण्डौंः अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमान्त्री ओलीको भनाइ थियो । खोप खरिदका लागि बेइजिङ र वासिङ्टनडिसीस्थित नेपाली राजदूतलाई सरकारले सक्रिय हुन निर्देशन दिएको छ । तीनै देशका काठमाडौंस्थित राजदूतसँग पनि सरकारले खोपका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । यीमध्ये सबैभन्दा पहिले चीनबाट खोप आउने सरकारको विश्वास छ ।
‘भारतबाट खरिद भएको खोप आउन विभिन्न कारणले समय लाग्ने भएको छ । भारत आफैँ पनि अप्ठ्यारोमा परेको स्थितिमा हामीले चीन, रुस र अमेरिकासँग खोपका लागि कुराकानी गरिरहेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘कूटनीतिक च्यानलमार्फत र प्रत्यक्ष संवादबाट कुराकानी अघि बढाएका छौँ, चाँडै नै नतिजाको पर्खाइमा छौँ ।’
चीनमा राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकामा राजदूत डा. युवराज खतिवडा सक्रिय छन् । रुसमा नेपाली राजदूत रिक्त भएका कारण नेपालस्थित राजदूतमार्फत सरकारले खोप ल्याउन पहल थालेको छ । प्रधानमन्त्री ओलीले गत साता नेपालस्थित रुसी राजदूत अलेक्सेई नोभिकोभलाई बालुवाटार बोलाएर यसबारे छलफल गरेका थिए । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तहबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि खोपबारे छलफल भएको परराष्ट्रका एक अधिकारीले बताए । अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले खोप उत्पादक कम्पनीका अधिकारीसँग खरिदबारे छलफल गरेका छन् ।
सल्लाहकार भट्टराईका अनुसार तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल भएको छ । विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त कम्पनीबाट खोप खरिदका लागि प्रयास भएको उनको भनाइ छ । कोभ्याक्सअन्तर्गतको खोप ल्याउन पनि प्रयास भइरहेको भट्टराईले बताए । ‘सरकारले खोप ल्याउनका लागि सबै प्रयासलाई अत्यन्तै तीव्रताका साथ जारी राखेको छ,’ उनले भने । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संयन्त्र खोपका लागि सक्रिय रहेको बताइन् । ‘खोप ल्याउने मिसनमा सम्पूर्ण प्रयास जारी छ, बाहिर रहनुभएका हाम्रा राजदूत र यहाँका कूटनीतिक नियोगसँग हाम्रो छलफल भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा काम गरिरहेका छौँ ।’ नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया