श्रावण ५, २०८२ सोमबार July 21, 2025

अक्षय तृतीया पर्व आजः सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिएका बेला सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उहाँले भन्नुभयो ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ । सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

परशुराम जयन्ती

अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनुभएको हो ।

ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उहाँले जन्म लिनुभएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार